‘मुलुकको आवश्यकता ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ’- सभामुख डीपी अर्याल
थानकोट ।
सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुनहरू निर्माण गर्ने बताएका छन्।
चन्द्रागिरि नगरपालिका १३ मा रहेको कंकाली माविको ४३औँ वार्षिकोत्सवमा उनले कानुन निर्माणको मुख्य स्थानमा आफू रहेको उल्लेख गर्दै मुलुक र जनताको आवश्यकतालाई सम्बोधन हुने गरी कानुन निर्माण गरिने बताए।
४२ वर्षअघि चार विद्यार्थीबाट सुरु भएको विद्यालयमा भएको पूर्वाधार र शैक्षिक विकासको प्रशंसा गर्दै उनले विद्यालयको उन्नयनका लागि शुभकामना व्यक्त गरे।
कार्यक्रममा सांसद भूमिका श्रेष्ठले आगामी दिनमा विद्यालयको थप प्रगतिको शुभकामना दिँदै आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्। यस्तै प्राधानाध्यापक विष्णु पनेरूले विद्यालयले चार दशकमा प्राप्त गरेको उपलब्धिको चर्चा गर्दै आगामी दिनमा गुणस्तरीय शिक्षाका लागि थप मिहिनेत गर्ने प्रतिबद्धता व्यक्त गरे।









