थानकोट महालक्ष्मी मन्दिर जिर्णोद्धार हुँदै, झिंगटी हटाएर सुनाैलो धातुले छाना छाइने (डिजाइनसहित)
थानकोट ।
थानकोट महालक्ष्मी मन्दिर जिर्णोद्धारको कार्य औपचारिक रुपमा सुरु भएको छ ।
चन्द्रागिरि नगरपालिकाले उक्त मन्दिर जिर्णोद्धार तथा मन्दिर क्षेत्रको स्तरोन्नतिका लागि बोलपत्र स्वीकृत गरेसँगै मन्दिरले नयाँ रुप पाउने भएको हो ।
सो कार्यका लागि सुमार्ग कन्सट्रक्सन तथा सप्लायर्सले १ करोड १० लाख ५० हजार ६ सय ११ रुपैयाँ ४३ पैसामा बोलपत्र कबोल गरेको चन्द्रागिरि नगरका प्रमुख प्रशासकीय अधिकृत जग्दिश चन्द्र नेपालीले जानकारी दिए । सो रकम करसहितको रहेको बताइएको छ ।
नगरप्रवक्ता एवं चन्द्रागिरि नगरपालिका वडा नं. ४ का वडाध्यक्ष कृष्णप्रसाद खड्गीका अनुसार मन्दिर क्षेत्र स्तरोन्नतिअन्तर्गत मन्दिर परिसरमा रहेको फल्चा पुनःनिर्माण, भुँइमा डाँछी इटा राख्ने र मन्दिर परिसरमा ढुङ्गाको पिलरमा घण्टा राख्ने लगायतका कार्य हुनेछन् । यसैगरी मन्दिरको छानामा हाल रहेको झिंगटी हटाएर तामाको छाना राखिने र सो मा सुनौलो रङ पोत्ने योजना रहेको बुझिएको छ।
थानकोट महालक्ष्मी मन्दिर चन्द्रागिरि नगरपालिका वडा नं. ४ (शोणितपुर) मा रहेको एक ऐतिहासिक र पुरातात्विक सम्पदा हो।
काठमाडौं उपत्यकाका अष्टमहालक्ष्मीमध्ये यो एक प्रमुख मन्दिर मानिन्छ।
यस मन्दिर प्राङ्गणमा संवत ८०४ को शिलालेख पनि रहेको छ ।
कात्तिक-मंसिरमा धानबाली भित्र्याईसकेपछि थानकोटमा महालक्ष्मी जात्रा हुने गर्दछ, जसलाई थानकोटको सिन्दूरजात्रा पनि भनिन्छ ।










