कलङ्की-बसुन्धरा सडक खण्डको काम तत्काल सुरु गर्न चिनियाँ राजदूतलाई मन्त्री घिसिङको आग्रह

Thankot Times

थानकोट ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका राजदूत चेन सोङबीच आज शिष्टाचार भेटवार्ता भएको छ । 

सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई चिनियाँ राजदूत सोङले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । 

भेटमा नेपाल–चीनबीचको सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ निर्माण व्यवसायीबाट ठेक्का लिएका सडक तथा विद्युत् आयोजनाको निर्माण प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहायतामा सञ्चालित आयोजनाहरुको कार्यान्वयन अवस्था, चिनियाँ लगानीलगायतका विषयमा छलफल भएको थियो । 

भेटमा मन्त्री घिसिङले नेपाल र चीनलाई सडक सञ्चालबाट जोड्ने काठमाडौँ–कोदारी (अरनिको) र स्याप्रुबेँसी–रसुवागढी सडक महत्वपूर्ण र संवेदनशील रहेको तर पहिरो र कमजोर भौगोलिक अवस्थितका कारण जोखिमयुक्त रहेकाले चिनियाँ प्रविधि प्रयोग गरी सडक मर्मत गरी स्थायी रुपमा सञ्चालनका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । 

यसैगरी काठमाडौँ उपत्यका चक्रपथ विस्तारअन्तर्गत चिनियाँ अनुदानमा निर्माण हुने कलङ्की–बसुन्धरा खण्डको काम तत्काल सुरु गर्न, अरुण नदी करिडोरमा धेरै जलविद्युत् आयोजनाहरु निर्माणाधीन रहेको र नेपालको विद्युत् बजारलाई थप प्रतिस्पर्धी बनाउन किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माण अगाडि बढाउन उनले आग्रह गरे । 

मन्त्री घिसिङले चिनियाँ कम्पनीले ठेक्का लिएका कमला–कञ्चनपुर आयोजनाको निर्माण सन्तोषजनक नरहेको जानकारी गराउँदै नारायणघाट–बुटवल तथा मुग्लिन–पोखरा सडक बिस्तारको कामलाई गतिदिन आवश्यक सहयोग र सहजीकरणका लागि पहल  गरिदिन आग्रह गरेका थिए । 

सो अवसरमा राजदूत सोङले छिमेकी मित्रराष्ट्र नेपालको प्राथमिकताका आधारमा यसअघि जस्तै सक्दो सहयोग गर्न चीन तयार रहेको बताए । 

उक्त  भेटमा भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकाल र सडक विभागका महानिर्देशक बिजय जैशी एवं परराष्ट्र मन्त्रालय उत्तरपूर्व एसिया महाशाखाका उपसचिव मनहरी दङ्गाललगायतका अधिकारीको उपस्थिति थियो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *