प्रेस काउन्सिलले जेन-जी आन्दोलनका क्रममा गोली लागेका पत्रकारलाई आर्थिक सहयोग गर्ने

Thankot Times

थानकोट ।

प्रेस काउन्सिल नेपालले जेन–जी आन्दोलनको क्रममा समाचार संकलन गर्दा गोली लागेर घाइते भएका पत्रकारहरूलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

बैठकले मुग्लिङ–नारायणघाट सडक खण्डमा पहिरो गएर अवरुद्ध भएको समाचार संकलनका क्रममा गम्भीर घाइते भएर हाल उपचाररत नेपाल टेलिभिजनका चितवन संवाददाता अनिल ढकाल र पर्सन सुदन पौडेललाई पनि आर्थिक सहयोग गर्ने निर्णय  गरेको छ ।

बोर्डका सदस्य पदमराज जोशीको अध्यक्षतामा सम्पन्न बैठकले प्रेस काउन्सिल मातहत रहेको पत्रकार कल्याण कोषबाट यथाशीघ्र पत्रकारहरूलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो । जेन–जी आन्दोलनको समाचार संकलन गर्ने क्रममा राजधानीमा चार जना पत्रकार गोली लागेर घाइते भएका थिए ।

बैठकले जोखिमयक्त क्षेत्रमा समाचार संकलन गर्दा सुरक्षा संवेदनशीलता अपनाउन र कुनै दुर्घटना भएको अवस्थामा तत्काल उपचारमा ध्यान दिन सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आग्रह गरेको छ । पछिल्ला दिनहरूमा पत्रकार आचारसंहिता प्रतिकूल हुनेगरी केही समाचार सामग्री सम्प्रेषण भइरहेको पाइएकोले त्यस्तो प्रवृत्ति रोक्न काउन्सिलले सम्बन्धित सञ्चारमाध्यमलाई सचेत गराउँदै आइरहेको र समाचारको निगरानी गरिरहेको जनकारी गराउँदै सबै पत्रकारहरूलाई आचारसंहिताको पालना गर्न आग्रह गरेको छ  ।

यही महिनाभित्र विज्ञसहितको उपस्थितिमा आचारसंहिता कार्यान्वयनका विषयमा बृहत् छलफल गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा नेपाल पत्रकार महासंघका अध्यक्षसमेत रहेकी बोर्ड सदस्य निर्मला शर्माको पनि उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *