फेसबुकमार्फत केपी ओलीको अनुरोध- जहाँ हुनुहुन्छ, आफ्नै घर फर्किनुस्

Thankot Times

थानकोट ।

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा एमालेको निर्माण गर्न र बलियो बनाउने यात्रामा सहभागी नेता–कार्यकर्तालाई पार्टीमा फर्किन आह्वान गरेका छन् ।

ओलीले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै जहाँ भएपनि आफ्नै घर (नेकपा एमाले) फर्किन आह्वान गरेका हुन् ।

उनले लेखेका छन्,’विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता–कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु । जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो ।’

ओलीले सबै काँधमा–काँध मिलाएर अघि बढ्नुपर्नेमा जोड दिँदै देशको स्वाधीनता,लोकतन्त्रको रक्षा र जनताको जीवनमा सुख, समृद्धि र आशाको ज्योति बाल्नुपर्ने बताए ।

उनले अगाडि भनेका छन्,’हामी एउटै परिवार हौँ, हाम्रो लक्ष्य स्पष्ट छ,समृद्ध नेपाल, सुखी नेपाली। म सबैमा आह्वान गर्न चाहन्छु । कोही अलमलमा नपर्नुस्, आउनुस्, आफ्नै घरमा । हाम्रो साझा सपना साकार पार्न ।निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटौं।’

महाविनाश निम्त्याएर देशको सार्वभौम अस्तित्वमाथि चुनौती खडा गरिएको उनले बताए ।

लोकतान्त्रिक संविधानमाथि आक्रमण भइरहेको भन्दै यस्तो बेला मौन नरही  राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्ने अध्यक्ष ओलीले बताए ।

एमाले एउटा राजनीतिक सङ्गठन नभई जनताको रगत, पसिना, आँसु र आशाबाट बनेको विशाल परिवार भएको उनले बताए ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *