कीर्तिपुरस्थित सशस्त्र प्रहरीको विद्यालयमा आर्थिक हिनामिना प्रकरण, दुई जना पक्राउ

Thankot Times

थानकोट ।

कीर्तिपुरस्थित सशस्त्र प्रहरीको विद्यालयमा भएको भनिएको आर्थिक अनियमितता सम्बन्धी प्रकरणमा विद्यालयमा कार्यरत दुई जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

पक्राउ पर्नेमा विद्यालयकी लेखा प्रमुख तथा इन्स्पेक्टर कल्पना गुरुङ र कर्मचारी लीला लामा रहेका छन्। उनीहरूलाई शनिबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आइतबार (आज) अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिनेछ।

प्रहरीका अनुसार सशस्त्र प्रहरी बल मुख्यालयले विद्यालयमा आर्थिक हिनामिनाको आशंका देखिएको भन्दै कानुनी कारबाही तथा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्राचार गरेको थियो। सोही आधारमा प्रहरी टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो।

अनुसन्धानका क्रममा विद्यालयको खातामा जम्मा हुनुपर्ने रकम व्यक्तिगत खातामा स्थानान्तरण गरी करोडौँ रुपैयाँ बराबरको रकम अनियमित रूपमा प्रयोग गरिएको आरोपमा अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ।

प्रारम्भिक छानबिनबाट लेखा प्रमुख गुरुङको भूमिका प्रमुख रहेको आशंका गरिएको छ।

यसअघि सशस्त्र प्रहरी मुख्यालयले आन्तरिक छानबिन सञ्चालन गरेको र त्यसबाट संलग्नता देखिएको निष्कर्षपछि थप कानुनी अनुसन्धान तथा मुद्दा प्रक्रिया अघि बढाउन प्रहरीसमक्ष सिफारिस गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *