फिफा विश्वकप फुटबल: फ्रान्स र मोरक्को क्वार्टरफाइनलमा

Thankot Times

थानकोट ।

फिफा विश्वकप फुटबलमा पाराग्वेलाई हराउँदै फ्रान्स र क्यानडालाई हराउँदै मोरक्को अन्तिम आठमा पुगेका छन् ।

आज बिहान भएको प्रि–क्वाटरफाइनल खेलमा फ्रान्सले पाराग्वेलाई १ गोलले हरायो । अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा फ्रान्सका कप्तान किलियन एम्बाप्पेले खेलको ७०औँ मिनेटमा पेनाल्टीमार्फत गरेको एक मात्र गोल नै निर्णायक बन्यो ।

यो गोलसँगै एम्बाप्पेले यो विश्वकप फुटबलमा सातौँ गोल समेत गरेका छन् । उनले अर्जेन्टिनाका लियोनल मेसीसँग बराबरी गरे । १८औँ पटक विश्वकप खेलिरहेको फ्रान्स दशौँ पटक क्वार्टरफाइनलमा पुगेको हो ।

यस्तै गए राति भएको खेलमा सहआयोजक क्यानडालाई ३ गोलले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा मोरक्कोका अज्जेदिन ओउनाहीले दुई तथा सुफियान रहिमीले एक गोल गरे ।

सातौँ पटक विश्वकप खेलिरहेको मोरक्को दोस्रो पटक क्वार्टरफाइनलमा पुगेको हो । साथै, दुई पटक क्वार्टरफाइनल पुग्ने पहिलो अफ्रिकी टोलीसमेत बनेको छ ।

पहिलो पटक अन्तिम १६ मा पुगेको क्यानडा भने हारसँगै प्रतियोगिताबाट बाहिरिएको छ र प्रतियोगिताबाट बाहिरिने पहिलो आयोजक देश बनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *