पोखराबाट काठमाडाैं सर्यो नेकपा एमालेको ११औं महाधिवेशनस्थल
थानकोट।
नेकपा एमालेले ११औँ महाधिवेनस्थल परिवर्तन गरेको छ ।
शनिबार बसेको सचिवालय बैठकले यसअघि पोखरामा गर्ने भनेको राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन गर्दै काठमाडौँमा गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
महाधिवेशन मिति भने परिवर्तन नभएको मंसिर २७ र २९ गते नै हुने ज्ञवालीको भनाइ छ ।
महाधिवेशनका लागि प्रतिनिधि छनोटको मापदण्ड पनि तय गरिएको छ ।
६ लाख ६७ हजार पार्टी सदस्य रहेको एमालेले मंसिर १३ गते शनिबार देशभर एकैसाथ प्रतिनिधि छनोट गर्ने निर्णय पनि गरेको छ ।
त्यसरी छनोट भएका प्रतिनिधि मंसिर १५ भित्र पठाइसक्नुपर्नेछ ।
प्रतिनिधि छनोटका लागि एक निर्वाचन क्षेत्रमा १२ सय सदस्य बराबर २ जना खुला, १ महिला र एकजना ४० वर्षमुनिका युवा गरेर एक क्षेत्रमा ४ जना प्रतिनिधि छनोटको अनुपात तय गरिएको छ।
न्यूनतम एकतिहाइ महिला छनोट हुनेछन् भने त्यसमा हरेक ८ सय सदस्य थपिँदै जाँदा १ जना महिला थपिने पनि एमालेले जनाएको छ ।












