फागुन २१ को निर्वाचनः मकवानपुर-२ मा एमालेबाट महेश बर्तौला र सुवासचन्द्र ठकुरी सिफारिस

Thankot Times

थानकोट ।

फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुर क्षेत्र नं.२ बाट नेकपा एमालेले दुई जनाको नाम उम्मेदवारमा सिफारिस गरेको छ।

एमाले मकवानपुर जिल्ला कमिटीले मकवानपुर-२ का लागि पार्टीका प्रमुख सचेतक भइसकेका नेता महेश बर्तौला र संविधान सभा सदस्य सुवासचन्द्र ठकुरीको नाम सिफारिस गरेको हो।

बर्तौला २०७९ को प्रतिनिधि सभा निर्वाचनमा त्यही क्षेत्रबाट विजयी भएर सांसद बनेका थिए। त्यतिबेला उनले पाँचदलीय गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई ४ हजार बढी मतान्तरले हराएका थिए।

जिल्ला कमिटीले पठाएको नाम प्रदेश कमिटी हुँदै एमालेको केन्द्रमा पुग्नेछ।

केन्द्रीय कमिटीले दुईमध्ये एक जनालाई मकवानपुर-२ को उम्मेदवार बनाउनेछ।

दुई जनाको नाम सिफारिस गरिए पनि अन्तिममा पार्टीले बर्तौलालाई उम्मेदवार बनाउने सम्भावना बलियो रहेको मकवानपुर एमालेका केही नेताको दाबी छ।

बर्तौलालाई एमालेका अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र मानिन्छ।

एमालेले मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट सातजनाको नाम सिफारिस गरेको छ ।

सिफारिस हुनेमा केन्द्रीय सदस्य रामेश्वर राना, प्रदेश सांसद एकालाल श्रेष्ठ, जिल्ला उपाध्यक्ष हिदम लामा, पार्टी नेताहरू मदनकुमार दाहाल, पूर्वसांसद कृष्णप्रसाद दाहाल, पूर्वराष्ट्रिय सभा सदस्य रामचन्द्र राई र नारायणप्रसाद सापकोटा रहेका छन्।

यसअघि, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मकवानपुरले पनि प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।

पार्टीले निर्वाचन क्षेत्र नम्बर–१ बाट विरोध खतिवडा र विजय गौतमसहित १३ जनाको नाम सिफारिस गरेको छ भने क्षेत्र नम्बर–२ बाट विरोध खतिवडा, रामनारायण बिडारी, वीरबहादुर घलान, लवशेर विष्ट, सागर उप्रेती र किशोर बर्तौलाको नाम सिफारिस गरेको जनाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट केन्द्रीय सदस्य दीपकबहादुर सिंहको एकल नाम सिफारिस गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *