समानुपातिक बन्दसूचीमा परेकी ट्राभलर सिर्जना सिज्जुले पनि नाम फिर्ता लिइन्

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्दसुचीमा समेटिएकी रुकुम पश्चिमकी सिर्जना ओली ‘सिज्जू’ले नाम फिर्ता लिएकी छिन् । उनले सामाजिक सञ्जाल फेसबुकमा बुधबार आफूले नाम फिर्ता लिएको जानकारी गराएकी हुन् ।

उनले भनेकी छिन्, ‘म गाडीमा यात्रा गर्दै थिए, त्यही बेला फोन आयो । हामी बालेन टिमबाट बोल्दैछौं तपाईँलाई समानुपातिक सूचीमा राख्ने विषय छ । आजै ३ बजे नाम पठाउनुपर्ने छ। अनुमति दिनुहुन्छ ? भनेर सोध्नुभयो ।’

त्यसपछि आफू यात्रामा रहेको र निर्णयका लागि समय माग गरेको उनले बताएकी छिन् ।

‘त्यो भन्दा अघि मेरो कसैसँग पनि राजनीतिक विषयमा कुनै कुरा भएको थिएन,’ उनले भनिन्, ‘केही बेरपछि फेरि फोनमा कुराकानी भयो, देशको लागि योगदान दिने अवसर थियो । मैले हतारमा केवल यही एउटा कुरा मात्र सोचेर नाइँ भन्न सकिनँ ।’

उनले कुनै पार्टीलाई योगदान दिएको कारण नभई देशलाई पर्यटन क्षेत्रमा थोरै भए पनि योगदान गरेको कारण आफ्नो नाम टिम बालेनबाट रास्वपामा सिफारिस भएको उनको भनाइ छ ।

‘यही कुरा टिमका सदस्यहरूले पनि भन्नुभएको थियो, यसका लागि म आभारी छु,’ उनले थप भनेकी छिन्, ‘तर मैले मेरो नाम फिर्ता लिइसकेकी छु । यात्रामा भएकाले र प्राविधिक समस्याले गर्दा जानकारी दिन केही दिन ढिला भयो ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *