प्रतिनिधि सभा सदस्य निर्वाचनः काठमाडाैं उपत्यकामा १२ मतदानस्थल अति संवेदनशील
थानकोट ।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं उपत्यकामा १२ वटा मतदान स्थललाई अति संवेदनशील वर्गीकरण गरिएको छ ।
ललितपुरका १२ वटा मतदान स्थललाई अति संवेदनशील मतदानस्थल निर्धारण गरिएको हो ।
काठमाडौं र भक्तपुरमा अति संवेदनशील मतदान स्थल छैन् ।
ललितपुरमा भौगोलिक रुपमा विकट ठाउँका मतदान स्थललाई अति संवेदनशील वर्गीकरण गरिएको हो । संवेदनशील र अति संवेदनशील वर्गीकरण गर्दा भौगोलिक विकटता र विगतमा भएका घटनालाई पनि विश्लेषण गरिएको छ ।
मतदान स्थलको भित्री घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी खटिनेछन् । एकीकृत सुरक्षा योजना अनुसार मतदान स्थल तथा मतदान केन्द्रको सुरक्षा घेरा तीन तहको हुनेछ । दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा सेना खटिनेछ ।
निर्वाचन सुरक्षामा ७३ हजार प्रहरी परिचालन गरिने छ । सशस्त्र प्रहरीका ३१ हजार सुरक्षाकर्मी दोस्रो घेरामा खटिनेछन् । एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार चुनावमा ७९ हजार सेना खटिँदैछन् । निर्वाचनमा सूचना संकलनको जिम्मेवारी सहित राष्ट्रिय अनुसन्धान विभागका २ हजार सुरक्षाकर्मी परिचालन गरिने तयारी छ ।
केन्द्रीय सुरक्षा समितिबाट स्वीकृत एकीकृत सुरक्षा योजना अनुसार मतदान स्थल तथा मतदान केन्द्रको सुरक्षामा निर्वाचन प्रहरीसहित ३ लाख १५ हजार सुरक्षाकर्मी परिचालित हुनेछन् ।
प्रहरीले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरीको भर्ना छनोट गरिरहेको छ । सशस्त्र प्रहरी बलले १५ हजार ११० जना निर्वाचन प्रहरीको भर्ना छनोट गरिरहेको छ ।
















