बालेनलाई इंगित गर्दै ओलीले भने- बतासे अण्डाबाट चल्ला निक्लिँदैन

Thankot Times

थानकोट ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सबै क्षेत्रमा आफ्ना उम्मेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले शनिबार चाबहिलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले १६५ वटै निर्वाचन क्षेत्रमा आफ्नो पार्टीे उम्मेदवारलाई जिताउन निर्देशन दिएका हुन् ।

ओलीले अहिले देश जलाउने कि बनाउने भन्नेबीच लडाइँ भइरहेको भन्दै आफूहरू देश बनाउने पार्टी र शक्ति भएको जिकिर गरे । ओलीले आफूलाई ‘देश बनाउने’ कित्तामा उभ्याउँदै आसन्न चुनावमा देशलाई हार्न दिन नहुने बताए । ओलीले भने, ‘तपाईंहरूले सूर्य चिह्नलाई विजयी बनाउनु हुनेछ । एमालेलाई विजयी बनाउनु हुनेछ । यो देशलाई विजयी बनाउनु हुनेछ, १६५ मध्ये एउटा ठाउँमा पनि देश हार्न हुँदैन ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आसन्न निर्वाचनमा झापा–५ मा आफ्ना प्रतिस्पर्धी रास्वपाका उम्मेदवार बालेन शाहतर्फ इंगित गर्दै ‘ठुटे सिङ लिएर सिँगौरी खेल्न’ पुगेको टिप्पणी गरे । उनले भने, ‘मैले धेरै केही भन्नु पर्दैन । अण्डा दुई प्रकारका हुन्छन्– एउटा बतासे, एउटा साँच्चैको अण्डा । बतासे अण्डाबाट चल्ला निस्किँदैन ।’

अहिलेका नयाँ दल भन्नेहरूसँग कुनै उद्देश्य र विचार नभएको टिप्पणी गर्दै उनीहरूले बतासको खेती गरिरहेको बताए । ओलीले भने, ‘यी बतासको खेती गरिरहेका छन् । यिनीहरूसँग संगठन छैन, उद्देश्य छैन, विचार छैन । भोलि उठी कहाँ जाने केही थाहा छैन । फर्की आउने हो कि होइन, त्यो पनि थाहा छैन ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ