प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ओहदाको प्रमाणपत्र पेश
थानकोट ।
नेपालका लागि संयुक्त राष्ट्रसंघका आवासीय संयोजक (रेजिडेन्ट कोअर्डिनेटर) लिला पिटर्स याहियाले आज प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेकी छन् ।
नवनियुक्त संयोजक याहियाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री कार्कीलाई भेटी आफ्नो ओहदाको प्रमाणपत्र पेस गरेकी हुन् । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबाट नियुक्त भएपछि नेपाल सरकारको स्वीकृतिमा याहियाले औपचारिक रूपमा नेपालमा आफ्नो कार्यकाल सुरु गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले नवनियुक्त संयोजक याहियालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिइन् । साथै उनले सुन्दर देश नेपालको बसाइ सुखद रहने विश्वास व्यक्त गरिन् । प्रधानमन्त्री कार्कीले भेटका अवसरमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि परिस्थितिलाई सामान्यीकरण गर्दै देशलाई शान्ति तथा लोकतन्त्रको बाटो हिँडाउन आफ्नो नेतृत्वको सरकार लागिपरेको जानकारी दिइन् । यस क्रममा संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त साथ, सहयोग र विश्वासका लागि उनले धन्यवाद ज्ञापन गरिन् ।
यो सरकारको मुख्य कार्यादेशमध्ये निर्वाचन सम्पन्न हुने चरणमा पुगेको तथा भदौ २३ र २४ का घटनाको जाँचबुझ आयोगले पनि आफ्नो काम अन्तिम चरणमा पुर्याएको जानकारी पनि प्रधानमन्त्री कार्कीले दिइन् ।
“हामी निकै असहज अवस्थामा आएका थियौँ । शान्ति सुव्यवस्था र कानुनको शासन बहालीका निम्ति पहिलो काम गर्यौँ । छोटो समयमै हामीले शान्ति बहाल गर्न सफल भयौँ । थप द्वन्द्व चर्किन नदिन निकै सतर्कताका साथ अघि बढ्यौँ । त्यसपछि हामीले शान्तिपूर्ण र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न होस् भनेर सम्पूर्ण शक्तिका साथ काम गरिरहेका छौँ । अब निर्वाचन पनि सम्पन्न हुने चरणमा छ”, प्रधानमन्त्री कार्कीले भनिन्, “संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त साथ, सहयोग र विश्वासका लागि धन्यवाद छ ।”
प्रधानमन्त्री कार्कीले राष्ट्रसंघीय निकायहरूमार्फत नेपालको विकास र मानवीय सहायताका लागि प्राप्त सहयोग तथा साझेदारीका लागि पनि सराहना गरिन् । राष्ट्रसंघले आगामी दिनमा नेपालको प्राथमिकता र आवश्यकतामा आधारित आफ्ना कार्यक्रम सञ्चालन तथा सरकारसँग साझेदारी गर्ने उनले विश्वास व्यक्त गरिन् ।
नवनियुक्त संयोजक याहियाले विषम् परिस्थितिमा प्रधानमन्त्री बनेकी कार्कीको नेतृत्वमा निर्वाचन सम्पन्न हुन गइरहेकामा बधाई दिँदै यस प्रक्रियामा पूर्ण सफलता मिल्ने भन्दै शुभकामना व्यक्त गरिन् ।
“देशका लागि यो महत्त्वपूर्ण समयमा नेपालमा संयुक्त राष्ट्रसंघको टोलीको नेतृत्व गर्न पाउनु मेरो लागि सम्मानको कुरा हो । युवाका लागि रोजगारी सिर्जना, शान्ति, समावेशिता तथा जलवायुजस्ता राष्ट्रिय प्राथमिकतामा सहयोग गर्न संयुक्त राष्ट्रसंघ पूर्ण रूपमा प्रतिबद्ध छ”, उनले भनिन् ।
















