धेरै सिट जिते भनेर कोही हौसिन जरुरी छैन, म नै संसदको सिनियर नेता होः प्रचण्ड

Thankot Times

थानकोट ।

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य पुष्पकमल दाहालले पछिल्लो मत परिणामतर्फ लक्षित गर्दै धेरै सिट ल्याए भनेर कोही पनि हौसिन नहुने बताएका छन् ।

उनले अब संसदमा आफु नै सबैभन्दा सिनियर नेता हुने सम्भावना बढेको समेत बताए ।

रुकुम पूर्वको जिल्ला सदरमुकाम रुकुमकोटमा विजय र्‍यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै दाहालले भने, ‘ल्याउन त हामीले पनि २०६४ मा यसैगरी ठूलो जनमत ल्याएका थियौं । तर त्यो जित कायम राख्न सकेनौं । यसकारण अहिले कोही पनि हौसिन जरुरी छैन । कम ल्याएकोमा दुःखी हुन पनि आवश्यक छैन ।’

साथै उनले देशभर विजयोन्मुख रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको नाम नै उल्लेख गरेर यसको नेतृत्व पनि अब आफुले गर्नुपर्ने बताए । ‘हिजोदेखि हामीले नै उठाइरहका एजेण्डाहरुमा जेन–जी युवाहरुले उठाएका हुन् । रास्वपाको पनि कुरा त्यही नै हो, यसकारण यो पार्टीको पनि अब म नै नेता हो,’ उनले भने, ‘पूर्वप्रधानमन्त्रीहरुमध्ये म नै एउटा यस्तो उम्मेदवार हुँ जसले जित जितेको छु । यसकारण म त शेर हुँ ।’

आफुलाई मतदान गरेर जिताएकोमा रुकुम पूर्वका मतदातालाई धन्यवाद दिँदै दाहालले जिल्लाको समग्र विकासका लागि आफु लागिपर्ने प्रतिबद्धता समेत दोहोर्‍याएका छन् । शान्ति प्रक्रियाका कोही काम सम्पन्न गर्न बाँकी रहेको भन्दै दाहालले यसका लागि आगामी दिनमा सबैको सहयोगको अपेक्षा समेत व्यक्त गरे ।

दाहाल १० हजार २ सय ४० मत ल्याएर रुकुम पूर्वबाट विजयी भएका छन् । कुल ३४ हजार ७ सय ७२ मतदाता रहेको यस जिल्लामा जम्मा १९ हजार १ सय ५१ मत खसेको थियो । दाहालका प्रतिष्पर्धीका रुपमा एमालेका उम्मेदवार लिलामणि गौतमले ३ हजार ४ सय ६२ ल्याएका छन् भने कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापाले ३ हजार ८१ मत ल्याइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ