जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाही विजयी, रास्वपाकी विनीता कठायतको जमानत जफत
थानकोट ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार ज्ञानबहादुर (ज्ञानेन्द्र) शाही विजयी भएका छन् । योसँगै राप्रपाले यसपालि जितको खाता खोलेको हो ।
शनिबार (फागुन २३) दिउँसो सार्वजनिक अन्तिम मत परिणामानुसार शाहीले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार नरेश भण्डारीलाई तीन हजार १८१ मतान्तरले पराजित गरे ।
उनले १४ हजार ८१६ मत प्राप्त गरे । भण्डारीले ११ हजार ६३५ मत ल्याएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार दीपबहादुर शाहीले ७ हजार १४३ मत पाए । नेकपा (एमाले)का उमेदवार शान्तिलाल महत चार हजार ५१८ मतसहित चौथो स्थानमा रहे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उमेदवार विनीता कठायतले ४२१ मत प्राप्त गरिन् ।
सदरको उनले १० प्रतिशत पनि मत ल्याउन सकिनन् ।
योसँगै उनको जमानत जफत भएको छ । कठायत यसअघि समानुपातिक सांसद थिइन् ।















