हामी संगठन विस्तारका लागि भुगोलमा खटिनेछाैं, मतदाताहरूको मतको न्याय गर्नेछाैं- पोखरेल
थानकोट ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बन्ने चर्चाका बीच अन्तिम सूचीमा नपरेपछि सो पार्टीको आर्थिक व्यवस्थापन विभाग उपप्रमुख समेत रहेका चन्द्रागिरि नगरपालिका वडा नंं २ वाडभञ्ज्याङका टेकबहादुर पोखरेल(प्रभुराम) ले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्।
२०७९ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडाैं क्षेत्र नं. ९ मा ९९५ मतले पराजित भएका पोखरेलले यसपटक पार्टी उपसभापतिलाई काठमाडाैं क्षेत्र नं. ९ बाट चुनाव लड्न प्रस्ताव गर्दै आफु समानुपातिक सूचीमा बस्ने निर्णय गरेका थिए ।
सदन छिर्ने अवसर नपाए पनि उनले आफुसहित समानुपातिक सूचीमा रहेका ५३ जनाले पार्टीको संगठन विस्तारका लागि भुगोलमा खटिने बताएका हुन् ।
पार्टीले पाएको जनादेश अनुसार निर्वाचन आयोगको नीति अनुरुप समानुपातिकतर्फ सांसद्को सूची पेश भएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्,
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीमा अमूल्य मतदान गरि हाम्रो पार्टीलाई ऐतिहासिक जनमत दिनुभएकोमा समस्त मतदाताहरूमा काठमाडाैं क्षेत्र नं. ९ निर्वाचन परिचालन कमिटि संयोजकको हैसियतमा म हार्दिक कृतज्ञता व्यक्त गर्दछु । हाम्रो क्षेत्रबाट पार्टी उपसभापति डीपी अर्यालज्यूले काठमाडाैं जिल्लामै सबैभन्दा फराकिलो मतान्तरसहित जित प्राप्त गर्नुभएको छ । समानुपातिकतर्फ पनि हामीले यस क्षेत्रमा निकै गर्विलो मत पाएका छाैं ।पार्टीको चैत्र १ गते आइतबार बसेको बैठकले समानुपातिक मतपरिणामअनुसार ५७ जना साथीहरूको नाम निर्वाचन आयोगमा पेश गरेको छ । यो सँगै प्रतिनिधि सभामा हाम्रो दलको सानदार उपस्थित सुनिश्चित भएको छ । प्राप्त जनादेश एवं समानुपातिक सिट विभाजनका विभिन्न प्रकृया एवं प्रचलित निर्वाचन कानूनको पालना गर्नुपर्दा रास्वपाबाट म लगायत अन्य ५३ जना साथीहरू हाललाई सांसद्को रूपमा संसद् छिर्न असमर्थ छाैं तर हामीसँग निरन्तर छलफल, बहस र पैरवीपछि हाम्रा सबै १८२ जना माननीयज्यूहरूले प्रतिनिधि सभामा हाम्रा कुरा साझा गर्नुहुनेछ, हाम्रो पनि प्रतिनिधित्व गर्नुहुनेछ ।माननीयज्यूहरूले पार्टी र जनताको आवाज संसद् मा मुखरित गर्नुहुनेछ । हामी पार्टी संगठन विस्तार र मजबुद गर्न भुगोलमा खटिनेछाैं ।राष्ट्रिय स्वतन्त्र पार्टीलाई विश्वास गर्नुभएकोमा हामी आभारी छाैं, हामी तमाम मतदाताहरूको मतको न्याय गर्नेछाैं । धन्यवाद् ।















