युरोपको भिसा लागेको २१ थान पासपोर्ट थानकोटबाट बरामद, २ जना पक्राउ
थानकोट ।
काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले असार ६ मा चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट २१ थान पासपोर्ट बरामद गर्यो ।
भारतको नयाँ दिल्लीबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश-१-००६ ख ७४५४ नम्बरको बसमा सो पासपोर्ट भेटिएको हो ।
सो गाडीका चालक सिन्धुलीको कमलामाई घर भएका ४६ वर्षीय जित बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
सो प्रकरणमा अरु दुईजना पक्राउ परेका छन् ।
प्रहरीले बरामद गरेको पासपोर्ट छुटाउन आर्थिक चलखेल गरेको आरोपमा दुईजना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा राजेन्द्र ढकाल र विशाल खड्का छन् ।
उनीहरूले सो पासपोर्ट प्रहरीबाट छुटाउन ‘६ लाख रुपैयाँ लाग्छ’ भनेर चलखेल गरेको आरोप छ । एउटा पासपोर्ट छुटाउन तत्काल १५ हजार दिनुपर्ने र थप रकम पछि दिनुपर्ने भन्दै उनीहरूले बार्गेनिङ गरेको खुलेपछि पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी शरत कुमार थापाले जानकारी दिए ।
आरोपीहरूले पासपोर्ट छुटाउन टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयका ‘एसपी समेतलाई मिलाउनुपर्छ’ भनेर रकम मागेको आरोप छ ।
उनीहरूलाई थप अनुसन्धान गर्न अनुसन्धान कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।
युरोप जाने भिसा भारतमा लगाउने गिरोहबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।.
तस्बिरः एआईबाट सृजित प्रतिकात्मक तस्बिर










