‘५० हजार थान नयाँ मिटर आइपुग्यो, आवश्यक सेवाग्राहीले निवेदन दिनु’- विद्युत प्राधिकरण

Thankot Times

थानकोट ।

नेपाल विद्युत् प्राधिकरणले नयाँ विद्युत् जडान तथा मिटर प्रतिस्थापनलाई सहज बनाउन ५० हजार वटा विद्युत् मिटर प्राप्त भइसकेको जनाएको छ ।

प्राधिकरणका अनुसार, प्राप्त सबै मिटर देशका सातै प्रदेशमा पठाइसकिएको छ ।

नयाँ विद्युत् मिटर आवश्यक पर्ने सेवाग्राहीलाई आफू नजिकको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्र वा प्रादेशिक कार्यालयमा पुगेर आवश्यक प्रक्रिया पूरा गरी निवेदन दर्ता गर्न अनुरोध गरेको छ ।

लामो समयदेखि विभिन्न स्थानमा नयाँ मिटरको अभावका कारण विद्युत् जडान तथा मिटर प्रतिस्थापनमा ढिलाइ भइरहेको थियो ।

ठूलो संख्यामा मिटर उपलब्ध भएसँगै सेवा प्रवाह थप सहज हुने अपेक्षा गरिएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले सेवाग्राहीलाई तोकिएको प्रक्रिया पूरा गरी समयमै निवेदन दर्ता गर्न आग्रह गरेको छ ।

नयाँ मिटर जडानको कार्य सम्बन्धित कार्यालयमार्फत क्रमशः अघि बढाइने जनाएको छ ।

प्राधिकरणले सेवाग्राहीलाई सहज, पारदर्शी र प्रभावकारी सेवा प्रदान गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

विद्युत् सेवा थप गुणस्तरीय र व्यवस्थित बनाउन आवश्यक पहल निरन्तर जारी रहने जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *