ठगी गरेको आरोपमा चेकपोष्टबाट एकजना पक्राउ
थानकोट ।
आफूलाई अमेरिकी सेना बताएर सामाजिक सञ्जालमार्फत महिलाहरूलाई ठगी गरेको आरोपमा थानकोटबाट एक युवक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ती युवालाई चन्द्रागिरि नगरपालिका-७, थानकोटबाट मङ्गलबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनले विशेषगरी महिलाहरूलाई लक्षित गरी ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
यसरी गर्थे ठगी
काठमाडौँ प्रहरीका अनुसार आरोपीले सुरुमा सामाजिक सञ्जाल टिकटक मार्फत महिलाहरूसँग चिनजान गर्थे । त्यसपछि उनीहरूसँग ह्वाट्सएप नम्बर मागेर नेपाली नम्बरबाट कुराकानी गर्थे ।
कुराकानीका क्रममा उनले आफू अमेरिकन आर्मीमा कार्यरत रहेको र हाल बिदामा नेपाल आएको भन्दै महिलाहरूलाई विभिन्न प्रलोभनमा पार्थे ।
त्यसपछि आफूले ल्याएका सामानको भन्सार/कर तिर्नुपर्ने बहाना बनाउँदै आफ्नो बैङ्क खाताको लिमिट सकिएको भन्दै सम्पर्कमा आएका महिलाहरूसँग रकम माग्थे ।
रकम पाएपछि सम्पर्क विहीन हुन्थे ।
प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार पक्राउ परेका उनलाई आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको छ ।















