स्थानीय चुनावका लागि रास्वपामा उम्मेदवार छान्न नयाँ रूपरेखा, अर्को पार्टी त्यागेको ९० दिन पुग्नुपर्ने

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी यही वर्ष हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटको विस्तृत रूपरेखा तय गरेको छ।

रास्वपाले स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरूका लागि मापदण्ड तोकेको छ ।

आइतबार बसेको सचिवालय बैठकले आगामी स्थानीय तह निर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्न चाहनेहरूका लागि मापदण्ड निर्धारण गरेको हो ।

सो पार्टीले परम्परागत राजनीतिक दलहरूले अभ्यास गर्दै आएको बन्द कोठाभित्रको निर्णय, नातावाद, कृपावाद र आर्थिक चलखेललाई निरुत्साहित गर्दै पूर्ण रूपमा लोकतान्त्रिक र पारदर्शी विधिबाट उम्मेदवार छान्ने नीति रास्वपाले अघि सारेको हो।

उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लब र लिडरसिप एकेडमीबाट उत्तीर्ण हुनुपर्ने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।

‘आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लब र लिडरसिप एकेडमीबाट उत्तीर्ण हुनुपर्नेछ,’ उनले भने ।

पार्टीले सार्वजनिक गरेको ‘स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा, २०८३’ मा नेताको घरदैलो चाहार्ने र शक्तिकेन्द्रलाई रिझाउनेलाई नभई जनताको मन जित्ने र स्थानीय रूपान्तरणको स्पष्ट खाका भएका व्यक्तिलाई मात्र चुनावमा उठाउने स्पष्ट पारिएको छ। उमेदवार हुन चाहनेले आफ्नो जीवनकालमै पहिलोपटक कुनै राजनीतिक दलको सदस्य बनेको अर्थात रास्वपा नै पहिलो राजनीतिक दल रहेको व्यक्तिको हकमा पार्टी सदस्यता प्राप्त गरेको कम्तीमा ४५ दिन पूरा भएको हुनुपर्नेछ ।

अन्य राजनीतिक दल त्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएको व्यक्तिको हकमा पार्टी सदस्यता प्राप्त गरेको कम्तीमा ९० दिन पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *