उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज चुनाव हुँदै

Thankot Times

थानकोट ।

निजीक्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि आज मंगलबार चुनाव हुँदै छ ।

चार जना उपाध्यक्षसहित, विषयगत समूहतर्फको केन्द्रीय सदस्यहरूका लागि आज चुनाव हुन लागेको हो ।

सोमबार ललितपुरको ग्वार्खोस्थित होटल टुलिपमा महासंघको ६०औँ वार्षिक साधारणसभा सम्पन्न भएको थियो ।

तर, चुनाव भने आज काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

कार्यतालिका अनुसार आज बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म चुनाव हुनेछ ।

महासंघको विद्यमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आउँदो कार्यसमितिको अध्यक्ष स्वतः हुने व्यवस्था छ । सोही व्यवस्थाअनुसार वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठ स्वतः अध्यक्ष बन्दै छन् । तर, श्रेष्ठपछि बन्ने अध्यक्ष भने स्वतः नभएर सिधै निर्वाचित हुने व्यवस्था संशोधित विधानले गरेको छ ।

अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा विशेष साधारणसभाले अघिल्लो वर्ष नै महासंघको विधान संशोधन गरेको छ । संशोधित विधानअनुसार अब वरिष्ठ उपाध्यक्ष र अरु उपाध्यक्षका लागि मात्र नभएर अध्यक्षकै लागि अर्कोपटक निर्वाचन हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *