बचतकर्ताको करोडौँ रकम अपचलन गरेको आरोपमा सहकारीका अध्यक्ष समातिए
थानकोट ।
बचतकर्ताको करोडौँ रकम अपचलन गरेको आरोपमा मञ्जुश्री सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष नारायणप्रसाद घिमिरे पक्राउ परेका छन् ।
बचतकर्ताको रकम चार वर्षदेखि फिर्ता नगरेको भन्दै बागमती प्रदेश सरकारको सहकारी मन्त्रालयमा परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।
मन्त्रालयको पत्राचारपछि प्रहरी वृत्त बौद्धबाट खटिएको विशेष टोलीले शुक्रबार घिमिरेलाई पक्राउ गरेको हो ।
प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक सन्तोष रोक्काले सहकारी ठगी सम्बन्धमा आवश्यक सोधपुछ र कानुनी प्रक्रिया अघि बढाउन घिमिरेलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
उक्त सहकारीले करिब १५० जना बचतकर्ताको १५ करोड रुपैयाँभन्दा बढी बचत फिर्ता नगरेको प्रारम्भिक अध्ययनमा देखिएको छ ।
पक्राउ परेका घिमिरेमाथि अनुसन्धान सुरु गरिएको र थप कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।










