चन्द्रागिरि नगरको बजेट बहुमतले पारित, नेकपा एमालेका जनप्रतिनिधिको लिखित असहमति
थानकोट ।
चन्द्रागिरि नगरपालिका नगर सभाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २ अर्ब ९३ करोड ९५ लाख रुपैयाँको बजेट पारित गरेको छ ।
नगर सभाको १८औ अधिवेशनको दोस्रो बैठकले बुधबार सो बजेट पारित गरेको हो ।
प्रस्तावित बजेटमध्ये चालुतर्फ १ अर्ब २८ करोड २० लाख रुपैयाँ तथा पुँजीगततर्फ १ अर्ब ६५ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
नगरपालिकाले आगामी वर्षका लागि १ अर्ब ४५ करोड १३ लाख रुपैयाँ आन्तरिक आय संकलन गर्ने लक्ष्य लिएको छ।
यस्तै, राजस्व बाँडफाँटबाट ५९ करोड ३३ लाख रुपैयाँ, प्रदेश सरकारको सवारी साधन करबाट ७ करोड ३३ लाख रुपैयाँ, नेपाल सरकारको मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्कबाट १४ करोड ४४ लाख रुपैयाँ र स्थानीय राजस्व बाँडफाँटबाट ३७ लाख ५४ हजार रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।
त्यसैगरी नेपाल सरकारबाट वित्तीय हस्तान्तरणअन्तर्गत २१ करोड ७३ लाख रुपैयाँ समानीकरण अनुदान, ५२ करोड ४० लाख रुपैयाँ सशर्त अनुदान तथा ५ करोड ५८ लाख रुपैयाँ विशेष अनुदान प्राप्त हुने अनुमान गरिएको छ। प्रदेश सरकारबाट २ करोड २७ लाख रुपैयाँ समानीकरण अनुदान प्राप्त हुने प्रक्षेपणसहित बजेट निर्माण गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा प्रचलित करका केही दायरा तथा दररेटमा समेत परिमार्जन गर्ने गरेको छ।
विभिन्न ३ दलको प्रतिनिधित्व रहेको चन्द्रागिरि नगर सभामा नेकपा एमालेले बजेटप्रति असहमति जनाएपछि बहुमतले बजेट पारित भएको प्रवक्ता कृष्णप्रसाद खड्गीले जानकारी दिए । बजेट अवास्तविक र कार्यान्वयनयोग्य नरहेको नेकपा एमालेका जनप्रतिनिधिले नगरप्रमुख घनश्याम गिरीसमक्ष बुझाएको असममति पत्रमा उल्लेख छ ।
गतवर्ष पनि नेकपा एमालेले नगरको बजेटप्रति असहमति जनाउँदै बजेट सेसननै बहिष्कार गरेको थियो ।










