विपद् उद्धारमा ४ हजार सुरक्षाकर्मी परिचालन, उद्धारमा खटिएका ८५ सुरक्षाकर्मी सम्पर्कविहीन

Thankot Times

थानकोट ।

रसुवा बाढीमा परी ८५ जना सुरक्षाकर्मी सम्पर्क विहीन भएका छन् ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले बिहीवार यसबारेमा जानकारी दिएको हो ।

केन्द्रका प्रमुख फणीन्द्रप्रसाद पौडेलले बिहीबार बिहान दिएको जानकारीअनुसार विपद् प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी र जनशक्ति परिचालनलाई तीव्रता दिइएको छ ।

पौडेलकाअनुसार बुधवार राति २ बजे नै ८ वटा ट्रकमा राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाइसकिएको छ ।

हाल हेलिकोप्टरमार्फत ‘डिग्निटरी किट’ र आवश्यक स्वास्थ्य उपकरणहरू पठाउने कार्य भइरहेको छ । रसुवामा सञ्चार सम्पर्क विच्छेद भएकाले हेलिकोप्टरबाटै सञ्चार उपकरणहरू पठाइँदै छ भने एमआई हेलिकोप्टर धुन्चेतर्फ प्रस्थान गर्ने तयारीमा छ । ठूलो मानवीय क्षतिको यस घडीमा जनशक्ति परिचालनलाई समेत व्यापक बनाइएको छ ।

हालसम्म नेपाली सेनाका २ हजार ३ सय ५५ जना र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलसहित कुल ४ हजारभन्दा बढी सुरक्षाकर्मी उद्धार कार्यमा परिचालित भइसकेका छन् ।

यद्यपि, राहत र उद्धार कार्यमा खटिएका सुरक्षाकर्मीहरू नै सम्पर्कविहीन भएपछि कार्यसम्पादनमा चुनौती थपिएको केन्द्रले जनाएको छ । प्राप्त विवरणअनुसार उद्धारमा खटिएका नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरीका १३ जना गरी कुल ८५ जना सुरक्षाकर्मी हाल सम्पर्कविहीन छन् । अन्य कर्मचारीहरूको पनि विवरण संकलन भइरहेको छ । राहत वितरण र सञ्चार सम्पर्क स्थापित गर्न खटिएका जनशक्ति नै सम्पर्कविहीन हुँदा उद्धार कार्यमा कठिनाइ भइरहेको पौडेलले बताए ।

चुनौतीपूर्ण अवस्थाका बाबजुद नेपाल सरकारले २४ सै घण्टा उद्धार र राहत कार्यलाई प्राथमिकतामा राखेको छ । बुधवार राति ३ बजेसम्म बसेको बैठकले आवश्यक सामग्री र थप जनशक्ति परिचालन गर्ने निर्णय गरेको थियो। हाल त्रिशूली मार्ग हुँदै राहत सामग्री र जनशक्ति पठाउने क्रम जारी रहेको गृह मन्त्रालयले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *