भदौ १३ देखि विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न शिक्षामन्त्री पोखरेलको निर्देशन

Thankot Times

थानकोट ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भदौ १३ गतेदेखि सबै विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने परीक्षा स्थगित गर्न सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई निर्देशन दिएका छन्।

प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै मन्त्री पोखरेलले विश्वविद्यालयसम्बन्धी विद्यमान ऐनबाट प्राप्त अधिकार प्रयोग गरी परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन्।

उनले स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न भनेका छन्। भदौ १२ गते निर्धारित परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि पनि उपयुक्त समयमा परीक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

मन्त्री पोखरेलले विश्वविद्यालय तथा सम्बन्धित शैक्षिक संस्थामा अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा र अन्य सामूहिक कार्यक्रम स्थगित गर्न अनुरोध गरेका छन्।

विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क र समन्वय गरी आवश्यक सहयोग तथा सहजीकरण गर्न पनि निर्देशन दिइएको छ।

आवश्यकताका आधारमा प्रभावित विद्यार्थी र अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्न तथा विपद्ले अध्ययनमा पारेको असरलाई ध्यानमा राखी विद्यार्थीको शैक्षिक निरन्तरता कायम गर्ने व्यवस्था मिलाउन भनिएको छ।

मन्त्री पोखरेलले वर्तमान संवेदनशील परिस्थितिमा उल्लिखित व्यवस्था तत्काल कार्यान्वयन गर्न आवश्यक निर्णय लिन उपकुलपतिहरूलाई अनुरोध गरेका छन्।

उनले विपद्को कठिन समयमा विश्वविद्यालय परिवारका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकता दिई आवश्यक निर्णय लिनसमेत आग्रह गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *