यस वर्ष दसैँमा उपत्यकामा सवारी दुर्घटना घट्यो

Thankot Times

थानकोट ।

यस वर्षको दसैँमा काठमाडौं उपत्यकामा सवारी दुर्घटना र त्यसबाट हुने मानवीय क्षतिमा कमी आएको छ।

गत वर्षको दसैँमा १५५ वटा सवारी दुर्घटना हुँदा १० जनाको मृत्यु भएकामा यस वर्ष दुर्घटनाको संख्या घटेर १०५ पुगेको छ। दुर्घटनामा परी तीनजनाले ज्यान गुमाएका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष सवारी दुर्घटना ५० वटाले घटेको हो। त्यस्तै, दुर्घटनामा मृत्यु हुनेको संख्या सातजनाले कम भएको छ। ट्राफिक प्रहरीले चाडपर्वलक्षित सुरक्षा योजना, नियमित अनुगमन र संयुक्त जाँचलाई प्रभावकारी रूपमा सञ्चालन गरेकाले दुर्घटना न्यूनीकरणमा सहयोग पुगेको जनाएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार यस वर्ष भएका अधिकांश दुर्घटना दुईपांग्रे सवारीसाधनसँग सम्बन्धित छन्। तीव्र गतिका कारण सवारीसाधन अनियन्त्रित हुँदा दुर्घटना हुने गरेको उनले बताए।

सुवेदीले ट्राफिक प्रहरीले पूर्वतयारीसहित योजनाबद्ध रूपमा काम गर्नुका साथै यातायात व्यवसायी, मजदुर र अन्य सरोकारवालाको सहकार्यले सडक सुरक्षा सुधार गर्न मद्दत पुगेको बताए। चाडपर्वका समयमा नागरिकलाई सुरक्षित यात्रा गराउन विभिन्न पक्षको समन्वयले महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *