विश्वकप क्रिकेटः अफगानिस्तानमाथि अष्ट्र्रेलियाको अविश्वसनीय जितपछि सेमीफाइनल समीकरण रोचक
थानकोट ।
अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपमा अफगानिस्तानविरुद्ध तीन विकेटको उत्कृष्ट जित निकालेको छ ।
मंगलबार भारतको मुम्बईस्थित वान्खडे रंगशालामा सम्पन्न खेलमा म्याक्सवेलले कीर्तिमानी ब्याटिङ गरेपछि अफगानिस्तानले प्रस्तुत गरेको २९२ रनको लक्ष्य अस्ट्रेलियाले १९ बल बाँकी रहँदै सात विकेट गुमाएर भेट्टायो ।
अस्ट्रेलियाको जितमा म्याक्सवेलले अविजित २०१ रन बनाए । जारी विश्वकपमा पहिलो दोहोरो शतक बनाएका म्याक्सवेलले १२८ बलमा २१ चौका र १० छक्का प्रहार गरे । अन्तर्राष्ट्रिय क्रिकेटमा यो म्याक्सवेलको अहिलेसम्मकै सबैभन्दा उच्च स्कोर हो ।
जितसँगै अष्ट्रेलियाले प्रतियोगिताको अन्तिम ४ को टिकट काटेको छ । यो सँगै प्रतियोगितामा सेमीफाइनलमा पुग्ने ४ मध्ये ३ टोलीको टुंगो लाग्दा अन्तिम टोली बन्न तीन देशबीच प्रतिस्पर्धा छ । पाकिस्तान, न्यूजिल्याण्ड र अफगानिस्तान मध्ये एक टोली जारी विश्वकप क्रिकेटको सेमीफाइनलमा पुग्नेछ । यी तीन वटै टोलीले समान ८-८ खेल खेलिसक्दा समान ८-८ अंक छ, नेट रन रेटका आधारमा न्यूजील्याण्ड अहिले अंक तालिकाको चाैथो स्थानमा छ भने सो पछि पाकिस्तान र अफगानिस्तान रहेको छ ।
प्रतियोगितामा सहभागी १० मध्ये ८ टोलीले समान ८-८ खेल खेलिसक्दा घरेलु मुलुक भारतले मात्रै शतप्रतिशत जित हात पारेको छ । प्रतियोगिताको सेमीफाइनल दाैडबाट यसअघि नै बाहिरिएका इंग्ल्याण्ड र नेदरल्याण्ड्सले बुधबार खेल खेलेपछि सबै टोलीले समान १-१ खेल खेल्न बाँकी हुनेछ ।










