एकदिवसीय विश्वकपको छनोट दक्षिण अफ्रिका र नामिबियामा हुने

Thankot Times

थानकोट ।

आगामी वर्ष हुने आईसीसी पुरुष एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन् । क्रिकइन्फोका अनुसार, छनोट प्रतियोगिता आगामी फेब्रुअरी २६ देखि मार्च २१ सम्म हुनेछ ।

विश्वकप छनोटमा १० टोली रहनेछन् । यसमा एकदिवसीय वरीयताका दुई पूर्ण सदस्य राष्ट्र, लिग–२ क्रिकेटका शीर्ष चार टोली तथा विश्वकप छनोट प्लेअफबाट आउने चार टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

हालसम्म पाँच टोलीले छनोट खेल्ने पक्का भइसकेको छ । आईसीसी वरीयताबाट आयरल्यान्ड र वेस्ट इन्डिज तथा आईसीसी क्रिकेट विश्वकप लिग–२ बाट नेदरल्यान्ड्स, स्कटल्यान्ड र अमेरिकाले छनोटमा स्थान पक्का गरिसकेका छन् ।

विश्वकप छनोट प्लेअफमा लिग–२ का पुछारका चार टोली र च्यालेन्ज लिगबाट आउने शीर्ष चार टोलीबीच प्रतिस्पर्धा हुनेछ । त्यहाँबाट शीर्ष चार टोलीले विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउनेछन् ।

च्यालेन्ज लिगका शीर्ष चार टोली इटाली, युगान्डा, जर्सी र कुवेतले प्लेअफमा स्थान बनाइसकेका छन् ।

यसैगरी, हालको स्थितिलाई हेर्दा लिग–२ बाट नेपाल, यूएई, क्यानडा र नामिबियाले प्लेअफ खेल्ने सम्भावना छ ।

हाल नेपाल आईसीसी क्रिकेट विश्वकप लिग–२ को सातौँ स्थानमा छ । यहाँबाट शीर्ष चारभित्र रहेर सिधै विश्वकप छनोट खेल्न नेपाललाई सहज छैन । त्यसैले टोलीले विश्वकप छनोटका लागि प्लेअफको सहारा लिनुपर्ने निश्चित जस्तै छ ।

विश्वकप छनोट प्लेअफ डिसेम्बर १ देखि २२ सम्म हुनेछ । यसको आयोजना स्थल भने तय भइसकेको छैन ।

छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टोलीले सिधै मुख्य प्रतिस्पर्धाको समूह चरणमा स्थान बनाउने छ ।

यसैगरी, दोस्रो, तेस्रो र चौथो टोलीले सुपर सिरिजमा प्रतिस्पर्धा गर्नेछन् । एकअर्काविरुद्ध दुई– दुई खेल खेलेपछि शीर्ष स्थानमा रहने टोली मुख्य प्रतिस्पर्धाको समूह चरणमा पुग्नेछ ।

एकदिवसीय अन्तर्राष्ट्रिय वरीयताका शीर्ष आठ टोलीसँगै सहआयोजक दक्षिण अफ्रिका र जिम्बाव्बेले सिधै मुख्य समूह चरणमा स्थान बनाइसकेका छन् ।

दक्षिण अफ्रिका र जिम्बाव्बेसँगै भारत, अस्ट्रेलिया, इंग्ल्यान्ड, पाकिस्तनान, न्युजिल्यान्ड, बंगलादेश, अफगानिस्तान र श्रीलंकाले सिधै विश्वकप खेल्ने अवसर पाएका हुन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ