२० ओभरको विश्वकप क्रिकेटमा छनोट भएका क्रिकेट खेलाडीले सरकारबाट जनही १३ लाख पाउने
थानकोट ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजले संयुक्त आयोजना गर्ने टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट हुन सफल नेपाली क्रिकेट टोलीको नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको छ।
राखेप कार्यकारी समितिका संयोजक राखेपका सदस्य-सचिव टंकलाल घिसिङको अध्यक्षतामा मंगलबार बसेको बैठकले नगद पुरस्कार सिफारिस गर्ने निर्णय गरेको हो।
१५ खेलाडी तथा समान १-१ मुख्य प्रशिक्षक, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियो गरी जम्मा १९ जनाका लागि २ करोड ४ लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार सिफारिस गर्ने निर्णय भएको छ।
प्रति खेलाडी १३ लाख, मुख्य प्रशिक्षकका लागि ३ लाख ९० हजार, सहायक प्रशिक्षक, व्यवस्थापक र फिजियोका लागि १ लाख ९५ हजार नगद पुरस्कार सिफारिस गरिएको छ।
गत आइतबार सम्पन्न आइसीसी पुरुष टी- २० विश्वकपको एसिया क्षेत्र छनोटको फाइनलमा पुग्दै नेपालले विश्व कपमा स्थान पक्का गरेको थियो।












