विश्वकप क्रिकेटः दोस्रो सेमिफाइनलमा आज अस्ट्रेलिया र दक्षिण अफ्रिका भिड्दै

Thankot Times

थानकोट ।

आईसीसी एकदिवसीय विश्वकपको दोस्रो सेमिफाइनल खेलमा बिहीबार दक्षिण अफ्रिकाले बलियो प्रतिद्वन्द्वी अस्ट्रेलियाको सामना गर्दैछ । उक्त खेल नेपाली समयअनुसार, दिउँसो २ः१५ बजे कोलकातास्थित ऐतिहासिक इडेन गार्डेन स्टेडियममा सुरु हुनेछ ।

यो खेलमा विजयी हुने टोलीले जारी विश्वकपको उपाधिका लागि आयोजक राष्ट्र भारतसँग भिडन्त गर्नेछ । भारत भने बुधबार खेलिएको पहिलो सेमिफाइनल खेलमा बलियो प्रतिद्वन्द्वी न्युजिल्यान्डलाई हराउँदै फाइनलमा पुगेको हो ।

दक्षिण अफ्रिकाले हालसम्म एकदिवसीय विश्वकपको उपाधि जितेको छैन भने अस्ट्रेलिया पाँचपटकको विश्व च्याम्पियन हो । जारी विश्वकपमा भने दक्षिण अफ्रिका निकै लयमा देखिएको छ । प्रारम्भिक चरणको खेलपछि अंक तालिकामा दक्षिण अफ्रिका दोस्रो र अस्ट्रेलिया तेस्रो हुँदै सेमिफाइनलमा पुगेका हुन् ।

दक्षिण अफ्रिका र अस्ट्रेलिया दुबैले प्रारम्भिक चरणमा खेलिएका नौमध्ये सात खेलमा जित हात पारेका थिए । तर, नेट रन रेटमा भने अस्ट्रेलियाभन्दा दक्षिण अफ्रिका अगाडि थियो । प्रारम्भिक चरणमा यी दुबै टोली आयोजक भारतसँग पराजित भएका थिए ।

यसदेखि वाहेक दक्षिण अफ्रिका एक खेलमा तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी नेदरल्यान्ड्ससँग पराजित भएको थियो । अस्ट्रेलिया भने यही विश्वकपको प्रारम्भिक चरणको खेलमा एकपटक दक्षिण अफ्रिकासँग पराजित भइसकेको छ ।

जारी विश्वकपमा दक्षिण अफ्रिकाले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । सुरुमा खासै गतिलो प्रदर्शन गर्न नसकेको अस्ट्रेलिया भने पछि लयमा फर्किएको हो । खासगरी अफगानिस्तानविरुद्धको खेलमा अस्ट्रेलियाको प्रदर्शन उच्चस्तरको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *