संघीय संसदको महासचिवमा पद्म प्रसाद पाण्डेय नियुक्त
थानकोट ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको महासचिवमा पद्म प्रसाद पाण्डेयलाई नियुक्त गरेका छन् ।
पाण्डेयले प्रतिनिधिसभाको सचिव पदबाट मंगलबार राजीनामा दिएसँगै राष्ट्रपतिले सो राजीनामा स्वीकृत गर्दै यसअघिको सिफारिस अनुसार महासचिवमा नियुक्त गरेका हुन् ।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले संविधानको धारा १०६ को उपधारा (१) बमोजिम राष्ट्रपतिले पाण्डेयलाई संघीय संसदको महासचिव पदमा नियुक्त गरेको जानकारी दिइन् ।
सभामुख र राष्ट्रिय सभाका अध्यक्षको संयुक्त सिफारिस गरेपनि लामो सदयदेखि राष्ट्रपतिले स्वीकृत नगरी होल्ड गरेर राखेका थिए । उनको नागरिकताको विषयमा विवाद भएपछि राष्ट्रपतिले सिफारिस होल्ड गरेको बताइएपनि यसभित्र राजनीतिक कारण समेत रहेको चर्चा हुँदै आएको थियो ।
यसअघि संघीय संसदको महासचिवमा डा भरतराज गौतम रहेका थिए । उनले मंसिर २४ मा राजीनामा दिएपछि पाण्डेयलाई नियुक्त गर्न सिफारिस भएपनि विवाद हुँदै आएको थियो । एमालेको निरन्तरको दवावपछि राष्ट्रपतिले पाण्डेलाई नियुक्त गरेका हुन् ।













