चन्द्रागिरिमा भेला भए काठमाडाैं उपत्यकाका १८ वटा पालिकाका उपप्रमुख
थानकोट ।
राजश्व संकलनमा एकरुपता कायम गर्ने सन्दर्भमा छलफल गर्न काठमाडाैं उपत्यकाका स्थानीय तहका उप्रमुख तथा उपाध्यक्ष सञ्जालको बैठक चन्द्रागिरि नगरपालिकामा सुरु भएको छ ।
चन्द्रागिरि नगरपालिका नैकापस्थित सफल भ्याली भ्यू रिसोर्टमा सोमबार बिहानबाट सो बैठक सुरु भएको हो ।
चन्द्रागिरि नगरपालिकाको व्यवस्थापनमा जारी बैठकमा नेपाल सरकारका पूर्व सचिव डा. गोपिकृष्ण खनाल लगायतले स्थानीय कर तथा राजश्व संकलनका विषयमा प्रशिक्षण दिने बताइएको छ । बैठकमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को संशोधन मस्यौदा विधेयकमाथि पनि छलफल हुने बताइएको छ ।
एक दिने बैठकमा चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, प्रवक्ता कृष्णप्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, नगरका विभिन्न वडाका वडाध्यक्षहरू, काठमाडाैं महानगरपालिका उपप्रमुख सुनिता डंगोल लगायत १८ वटा स्थानीय तहका उपमेयर तथा उपप्रमुखहरूको सहभागिता रहेको छ ।
सञ्जालको यो ७ औं बैठक हो । सञ्जालको छैठाैं बैठक महाँकाल गाउँपालिकाले आयोजना गरेको थियो । आजको बैठकले नै अर्को (आठौँ) बैठकको स्थानसमेत निर्क्याैल गर्ने बताइएको छ ।
स्थानीय राजश्व परामर्श समितिको संयोजक स्थानीय तहका उपप्रमुख वा उपमेयर रहने कानुनी व्यवस्था छ ।











