काठमाडौंको वायु विश्वमै अस्वस्थकर, धुलोका कारण थानकोटबाट नैकाप देख्नपनि मुस्किल

Thankot Times

थानकोट ।

शुक्रबार दिउँसोबाट एकाएक वायुको प्रदुषण बढ्दा चन्द्रागिरि नगर क्षेत्र समेत धुम्म देखिएको थियो ।

थानकोटबाट नैकाप क्षेत्रसमेत देख्न मुस्किल भएको देखिन्थ्यो । नागढुंगा-मुग्लिन सडक खण्ड मर्मत तथा विस्तार, नागढुंगा सुरुङ मार्ग निर्माणका कारण पनि थानकोट क्षेत्रमा धुलो उडेर वायु प्रदूषणलाई बढाएको छ ।

काठमाडौंको वायु प्रदूषण खराब स्थितिमा पुगेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार काठमाडौंको वायु विश्वकै अस्वस्थकरको सूचीमा तेस्रो स्थानमा छ । पहिलो स्थानमा भारतको नयाँदिल्ली र दोस्रो स्थानमा थाइल्याण्डको चिङ्गमाई छ ।

सोमबार बिहान काठमाडौंको वायु गुणस्तर सूचकांक (एक्यूआई) १७३ छ । यो जनस्वास्थ्यको हिसाबले अस्वस्थकर हो । १५१ देखि २०० एक्यूआईलाई रातो रंगले चित्रित गरी ‘अस्वस्थकर’ मानिन्छ ।

नयाँदिल्लीको एक्युआई २४४ छ । यो अत्यन्तै अस्वस्थकर हो । २०१ देखि ३०० सम्म एक्यूआईलाई अत्यन्तै अस्वस्थकर मानिन्छ ।

एक्यूआईले हावामा हुने पीएम २.५ र पीएम १० भनिने सूक्ष्म कणलाई हेरेर प्रदूषणको तह निर्धारण गर्छ । वायुको अवस्था जनाउने सूचक १०० भन्दा माथि पुगेमा स्वास्थ्य कमजोर भएकाहरुका लागि अस्वस्थकर र १५० अंकभन्दा माथि पुगेमा सबैलाई अस्वस्थकर मानिन्छ ।

अस्वस्थकर वायु हुँदा घरभित्रै बस्न र बाहिर निस्किनै परे मास्क, चस्मा र पूरै शरीर ढाकिने कपडा लगाउनुपर्ने जनस्वास्थ्यविदहरु सुझाव दिन्छन् । जनस्वास्थ्यविद् कमल रानाभाट अहिले काठमाडौंको हावा अस्वस्थकर अवस्थामा रहेको बताउँदै सुरक्षाका उपाय अपनाउन सुझाव दिन्छन् । उनी भन्छन्, ‘वायु अस्वस्थ हुँदा आँखा, फोक्सो र छालामा असर पर्दछ । स्वासप्रश्वासका विरामी र बालबालिकाहरु जोखिममा पर्दछन् । त्यसैले त्यसबाट जोगिन सकेसम्म घरभित्रै बस्ने, घर बाहिर निस्किनै परे मास्क प्रयोग गर्ने, चस्मा लगाउने र पूरै शरीर ढाकिने कपडा लगाउनु राम्रो हुन्छ ।’

काठमाडौं उपत्यका कचौराको आकार जस्तो भएकाले यहाँको प्रदूषण हट्न कि त पार्न पर्नुपर्छ कि भने तीव्र गतिमा हावा चल्नुपर्छ । अहिले यी दुवै स्थिति नभएकाले हावामा धुलोको कण बढेको छ ।

अन्य मानवीय कारणहरुमा सवारी साधन, पावर प्लान्ट, औद्योगिक कलकारखानाबाट निस्किएको धुवाँ, सडक निर्माणका गतिविधि लगायतका कारणहरु पनि हुन् । नागढुंगा–मुग्लिन, मुग्लिन–नारायणघाट–बुटवल र मुग्लिन–पोखरा सडकखण्ड विस्तार कार्यले पनि धुलो उडेर वायु प्रदूषणलाई बढाएको छ ।

अनलाइनखबरबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *