बलम्बुस्थित सशस्त्र प्रहरीको गोदामको आगो निभाउन ४५ मिनेटपछि दमकल !
थानकोट ।
सोमबार साँझ करिब पाँच बजे सशस्त्र प्रहरी बल (एपीएफ) को सतुंगलस्थित स्टोरमा ठुलो आगलागी भयो।
यो कुनै सर्वसाधारणको निजी निवास वा सङ्घसंस्थामा भएको आगलागी थिएन। वा कुनै दूर दराजको गाउँमा लागेको आगलागी थिएन। यो त देशकै एउटा ठुलो फौजी सङ्गठन सशस्त्रको स्टोरमा सल्केको आगो थियो।
तर यो आगो निभाउन संघीय राजधानीका सबै संयन्त्र प्रयोग गर्दा पनि कम्तीमा ४ घण्टा लाग्यो। बाहिरी मुस्लो निभाउन मात्र यति समय लागेको हो। गोदाम भित्रको आगो त ९ घण्टा पछि मात्र नियन्त्रणमा आएको थियो।
यो संघीय राजधानीमा भएको एउटा प्रतिनिधि घटना मात्र हो। अझ दूर दराजका सर्वसाधारणको घर वा भौतिक पूर्वाधारमा लागेको आगो कसरी नियन्त्रणमा आउँछ होला ? यस घटनाले गम्भीर प्रश्न छोडेको छ।
आगलागी सुरु भएदेखि करिब ४५ मिनेटसम्म बिना रोकटोक आगो दन्किरहेको थियो। यति बेलासम्म त्यो आगो नियन्त्रणको प्रयास कतैबाट हुनै सकेन। आगोले स्टोर बनाएको पुरै घर जल्यो। आगलागीबाट भएको क्षतिको विवरण भने आइसकेको छैन्।
तर गोदाममा भएका सामग्रीहरू जलेको हुँदा भित्र भने आगो बलिरहेको थियो। त्यसलाई पूर्ण रूपमा निभाउन चैँ हामीलाई समय लागेको नै हो।’
गोदाममा लागेको आगो पूर्ण रूपमा भने बिहान २ बजे निभेको उनले बताए।
आगलागी सुरु भएको करिब ३० देखि ४५ मिनेटपछि मात्र दमकल घटनास्थलमा पुगेको थियो। आगलागी सुरु भएपछि काठमाडौँ महानगर चन्द्रागिरि नगरपालिका, गोकर्ण नगरपालिका बाट दमकल पुगेको थियो। सशस्त्रको वाटर क्यानन पनि निर्वाचन आयोगमा रहेको र त्यहाँबाट घटनास्थलसम्म पुग्न समय लागेको थियो।
‘घटनास्थल नजिक कुनै दमकलहरू थिएनन्। काठमाडौँ महानगर महानगर, चन्द्रागिरि नगरपालिका, गोकर्ण नगरपालिकाका दमकलहरू घटनास्थलसम्म पुग्दा ३० देखि ४५ मिनेट लाग्यो। हाम्रो वाटर क्यानन पनि निर्वाचन आयोगमा थियो। त्यहाँबाट घटनास्थलसम्म पुग्दा पनि ३० मिनेट लाग्यो। त्यति ठुलो आगोलाई बाल्टीमा पानी ओसारेर हाल्ने कुरा पनि भएन,’ खड्काले नागरिकन्यूजसँग भने।
उनका तर्क यस्ता छन्, ‘घटनास्थल पुग्ने सडक साँगुरो छ। सोमबार उपत्यकामा घोडेजात्रा चलिरहेको थियो। सडकहरू व्यस्त थिए। दमकलहरू समयमै पुग्न सकेनन्। घोडेजात्राका दिन ठाउँ ठाउँमा जात्राहरू निस्केर सडक जाम हुँदा पनि दमकललाई पुग्न समय लागेको हो।
खड्का भन्छन्, ‘गोदाम ठुलो थियो। आगो धेरै फैलियो। सोमबार घोडेजात्रा पनि भएकाले सडकमा जाम थियो। बलम्बुसम्म पुग्ने सडक पनि साँघुरो भएकाले दमकललाई त्यहाँ पुग्न समय लाग्यो। त्यसैले पनि दमकल ढिला पुग्यो।’
गोदाम नजिकै प्रहरीको अस्पताल छ। तर अस्पतालमा एम्बुलेन्स र अन्य अपरेसनका गाडीहरू मात्र थिए। सशस्त्रले आफ्नो वाटर क्यानन पनि सहर केन्द्रित गरेर निर्वाचन आयोगमा राखेको थियो।
आगोको मुस्लो बढेका कारण दमकललाई पनि आगो नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो। सबैबाट दमकलले राम्रोसँग पानी हानेपछि आगो नियन्त्रणमा आएको थियो। आगो नियन्त्रणका लागि ७ वटा दमकल प्रयोग भएका थिए।
घटनास्थलमा दमकल भने पुग्नुपर्ने समय भन्दा ढिला पुगेको खड्का स्वीकार गर्छन्। समयमै दमकल पुगेको भए अझै चाँडो आगो नियन्त्रणमा आउने रहेको उनको भनाइ छ। तर दमकल पुगेपछि भने संयमतापूर्वक काम गर्दा आगो नियन्त्रणमा आएको र अन्य घरहरू भने जल्नबाट बचेको उनले बताए।
गोदाम भएको घर पुरै जल्यो भने घर भन्दा अगाडि पनि रहेको सानो गोदामको सामानहरू निकालेको खड्काले जानकारी दिए। आगो नफैलँदै नियन्त्रणमा लिन सकेको भए ठुलो गोदामको पनि सामान जोगाउन सकिने सम्भावना भएको उनको भनाइ छ। तर ती सामग्री जोगिएनन्।
ठुलो आगो नियन्त्रणमा आएपनि भित्र बलिरहेको आगो निभाउन कठिनाइ भएको उनले बताए। जलेका सामानहरूलाई एक्स्काभेटर खोतल्दै आगो निभाइएको थियो।
‘दुई ओटा एक्स्काभेटर खोतल्दै आगो निभाइएको थियो। तर एक्स्काभेटर पनि आगोले तातेर निरन्तर चलाउन नसक्ने भएपछि पूर्ण रूपमा आगो निभाउन कठिन भएको हो। निरन्तर एक्स्काभेटर चल्न पाएनन्। पानी हालेको हिलो र तातोले एक्स्काभेटर चलाउन गाह्रो भयो त्यसैले पूर्ण रूपमा आगो निभाउन समय लाग्यो,’ उनले भने।
सतुंगलमा रहेको गोदाम सशस्त्रको अस्थायी गोदाम हो। बाहिर पठाउनका लागि ल्याइएका सामग्रीहरू उक्त गोदाममा राख्ने गरिन्थ्यो। गोदाममा प्रहरीका बुट, टेन्ट, कपडा लगायतका सामग्रीहरू राखिएका थिए। कागजपत्र भने राखिएको थिएन।










