बलम्बुमा रहेको सशस्त्र प्रहरीको केन्द्रीय गोदाम आगलागी घटनाको छानबिन सुरु

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका बलम्बुमा रहेको सशस्त्र प्रहरी बलको केन्द्रीय गोदाममा गत सोमबार आगलागी भएको घटनाका बारे छानबिन गर्न गठन भएको आन्तरिक समितिले काम सुरू गरेको छ। 

सोमबार अपराह्न ४:५० बजे सुरू भएको आगलागी मध्यराति नियन्त्रणमा आएको थियो। उक्‍त घटनापछि सशस्त्र प्रहरी बलले कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालको अध्यक्षतामा ९ सदस्यीय छानविन समिति गठन गरिएको थियो।

समितिले मंगलबार बिहानैदेखि घटनास्थललाई सिल गरेको छ। त्यहाँको सुरक्षाको लागि नयाँ टोली राखिएको छ।

आगलागीबाट क्षति भएका सामानको विवरण संकलन गर्ने कार्य समेत तिव्र रूपमा अघि बढाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

त्यहाँ आगलागीबाट जोगिएर प्रयोगमा ल्याउन मिल्ने सामान छुट्याएर सिल गरी सुरक्षित स्थानमा पुर्‍याइएको उनले बताए। समितिले भण्डार महाशाखामा रहेको सम्पूर्ण सक्कल अभिलेखहरूको अध्ययन गरि के–कति सामान रहेको र कति क्षति भएको भन्ने विवरण समेत संकलन गरिरहेको छ।

साथै भण्डार महाशाखामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षकसहित ७ जनालाई समेत भण्डारण गरिएको सामानको विवरण र अवस्थाबारे सोधपुछका लागि झिकाइएको सहप्रवक्ता थापाले बताए। 

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनीबाट सुरक्षा जिम्मेवारीमा रहेका र त्यस दिनको ड्युटीमा रहेका सशस्त्र प्रहरी उपरीक्षकसहित ११ जना र नेपाल एपिएफ अस्पतालको सुरक्षा टोलीबाट मेनगेटमा खटिएका २ जनालाई समेत सोधपुछका लागि मुख्यालय झिकाएको छ।

समितिले सो स्टोरमा राखिएको सिसी क्यामेराको फुटेज समेत समितिले अध्ययन गरिरहेको छ। फुटेजमा भवनको बिचमा रहेको कोठाबाट सानो मात्रामा धुवाँ आएको केही सेकेण्ड भित्र नै ठुलो मुस्लो देखिएको र बाहिनीभित्र रहेका सुरक्षाकर्मी तत्काल घटनास्थल पुगेको देखिएको सहप्रवक्ता थापाले बताए।

उनका अनुसार सो आगलागीबाट फ्रि स्केलका सामान, विपद् उद्धारका सामान समेत जलेर नष्ट भएका छन्।

सशस्त्र प्रहरी बलको मुख्य स्टोर हलचोकमा रहेकोमा केही वर्ष अघिदेखि शाखा स्टोरको रूपमा सो ठाउँमा जिन्सी सामान भण्डारण गरिएको थियो। केही फ्रि स्केलका सामान भण्डारण गरिएको र त्यसको पूर्ण प्रक्रिया समाप्त नभएकोले मातहत कार्यालयमा पठाउने तयारीको अवस्थामा अचानक आगलागी भएकोले कर्मचारीको लागि वितरण गर्ने सामान जलेर नष्ट भएका छन्।

यस घटनामा सशस्त्र प्रहरी बलले आन्तरिक समिति गठन गरी छानबिन गरेको भएपनि गृहमन्त्रालयले पनि अर्को समिति बनाएको छ।

मन्त्रालयले सहसचिव भरतमणि पाण्डेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ। यस समितिलाई १० दिनको समय दिइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *