नेपाल बंगबन्धु कप कबड्डीको फाइनलमा
थानकोट ।
केन्यालाई हराउँदै नेपाल बंगलादेशमा जारी बंगबन्धु कप कबड्डीको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार बंगलादेशको ढाकामा भएको दोस्रो सेमिफाइनलमा केन्याविरुद्ध टाइब्रेकरमा हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । केन्या समुह ‘बी’को विजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेको थियो श्र
खेलको निर्धारित समय ५०–५० को बराबरीमा समाप्त भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । टाइब्रेकरमा नेपालले शारीरिक रूपमा बलियो केन्यामाथि ९–५ को जित निकाल्दै नेपाल उपाधिका लागि बंगलादेशसँगको भिडन्त पक्का गरेको हो । नेपाल पहिलोपटक बंगबन्धु कबड्डीको फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ४० मिनेटको अन्तिम समयसम्म नेपाल एक अंकले पछि थियो । तर, कप्तान घनश्याम रोका मगरले अन्तिम मिनेटमा बोनस प्वाइट निकाल्न सफल भएपछि खेल ५०–५० अंकमा बराबर भएको हो । टाइब्रेकरमा नेपालले नौ अंक जोड्दा केन्याले पाँच अंकमात्र जोडेपछि नेपाल ५९–५५ ले विजयी भएको हो । केन्या सन् २०२१ र २०२२ संस्करणको उपविजेतासमेत हो ।
नेपालका कप्तान रोकामगर खेलको ‘म्यान अफ दी म्याच’ चुनिए । घनश्याम नेपालले खेलेको ६ खेलमध्ये पाँचौँ खेलमा ‘म्यान अफ दी म्याच’ चुनिएका हुन् । बंगबन्धु कप कबड्डीकै इतिहासमा टाइब्रेकरसम्म पुगेको यो पहिलो खेल समेत हो ।














