टी-२० विश्वकपः दक्षिण अफ्रिकाको विजयी सुरुवात, युगाण्डा र अफगानिस्तानबीचको खेल जारी
थानकोट ।
जारी आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तर्गत आफ्नो पहिलो खेलमा श्रीलंकाविरुद्ध ६ विकेटको सहज जित निकाल्दै दक्षिण अफ्रिकाले विजयी सुरुआत गरेको छ ।
सोमबार अमेरिकाको न्यू योर्कमा सम्पन्न खेलमा श्रीलंकाले प्रस्तुत गरेको ७८ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १६.२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
प्रतियोगिताका दुवै टिमको यो पहिलो खेल हो । प्रतियोगिताको यो समूहमा श्रीलंका र दक्षिण अफ्रिकासँगै नेपाल, नेदरल्यान्ड्स र बंगलादेश छन् ।
विश्वकपअन्तर्गत अहिले बिहान समूह ‘सी’ को खेलमा अफगानिस्तानविरुद्ध युगान्डाले पहिले फिल्डिङ गरिरहेको छ ।
प्रतियोगितामा आज तीन खेल हुने तालिका छ । जसअन्तर्गत दोस्रो खेलमा स्कटल्यान्ड र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल राति ८ः१५ बजेदेखि सुरु हुनेछ ।
तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध चुनौती प्रस्तुत गर्दै छ । यो खेल राति ९ः१५ बजेदेखि सुरु हुनेछ ।
तस्बिरः गिटी इमेज














