टी-२० विश्वकपः घरेलु टोली अमेरिकाको दोश्रो जित, पाकिस्तान सुपर ओभरमा स्तब्ध
थानकोट ।
अमेरिका र वेस्ट इण्डिजमा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटमा एसियाली पावर हाउस पाकिस्तानले अविश्वसनीय नतिजाको सामना गर्नुपरेको छ ।
बिहीबार राति सम्पन्न खेलमा उपाधि दाबेदार टेस्ट टोली पाकिस्तान अमेरिकासँग सुपर ओभरमा पराजित भएको हो ।
डालासको ग्रान्ड पिएरे मैदानमा भएको खेलमा पाकिस्तान घरेलु टोली अमेरिकासँग सुपर ओभरमा ५ रनले पराजित भयो ।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले २० रनको लक्ष्य दिएको थियो ।
जवाफमा पाकिस्तान १४ रनमा समेटियो । यसअघि पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा १ सय ५९ रन जोड्दै खेल सुपर ओभरमा लगेको थियो ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ५९ रन बनाएको थियो ।
यसैगरी हिजो नै सम्पन्न अर्को खेलमा स्कटल्यान्डले नामिबियालाई ५ विकेटले हराएको छ ।
ब्रिजटाउनमा १ सय ५६ रनको लक्ष्य पछ्याएको स्कटल्यान्डले १८.३ ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन बनाउँदै जित निकालेको हो ।
टी-२० विश्वकपमा आज समूह ए का क्यानडा र आयरल्याण्ड खेल्दैछन् ।
न्युयोर्कमा हुने खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ ।
तस्बिरः आइसिसी














