टी-२० विश्वकपः अष्ट्रेलिया र दक्षिण अफ्रिका विजयी, युगाण्डा र वेस्ट इण्डिज बीच खेल जारी
थानकोट ।
जारी आईसीसी ट्वान्टी-२० विश्वकपमा अस्ट्रेलियाले साविक विजेता इंग्ल्यान्डविरुद्ध ३५ रनको जित निकालेको छ ।
शनिबार राति ब्रिजटाउनमा भएको खेलमा अस्ट्रेलियाले प्रस्तुत गरेको २०२ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डले निर्धारित २० ओभर नै ब्याटिङ गरे पनि ६ विकेट गुमाएर १६५ रनमात्र बनाउन सक्यो ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०१ रनको योगफल खडा गरेको थियो । जारी विश्वकपमा २०० रनको योगफल पार गर्ने अस्ट्रेलिया पहिलो टिम बन्यो ।
प्रतियोगितामा लगातार दोस्रो जित निकालेको अस्ट्रेलिया चार अंकसहित समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । अस्ट्रेलियाले यसअघि पहिलो खेलमा ओमानविरुद्ध ३९ रनको जित निकालेको थियो ।
समान खेलबाट एक अंक जोडेको इंग्ल्यान्ड तालिकाको चौथो स्थानमा छ । यसअघि इंग्ल्यान्डको पहिलो खेल वर्षा कारण नतिजाविहीन टुंगिएको थियो ।
शनिबार नै सम्पन्न अर्को खेलमा डेविड मिलरले सम्हालिएर ब्याटिङ गर्दै अर्धशतक बनाएपछि दक्षिण अफ्रिकाले नेदरल्यान्ड्सविरुद्ध चार विकेटको जित निकालेको छ ।
नासाउ काउन्टी अन्तर्राष्ट्रिय रंगशाला न्युयोर्कमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले प्रस्तुत गरेको १०४ रनको लक्ष्य दक्षिण अफ्रिकाले सात बल बाँकी रहँदै ६ विकेट गुमाएर भेट्टायो ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १०३ रनको योगफल खडा गरेको थियो ।
प्रतियोगिताको समूह ‘डी’ मा रहेको दक्षिण अफ्रिकाको लगातार दोस्रो जित हो । यसअघि पहिलो खेलमा श्रीलंकालाई ६ विकेटले हराएको दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा छ ।
समान खेलबाट दुई अंक जोडेको नेदरल्यान्ड्स तालिकाको तेस्रो स्थानमा छ । नेदरल्यान्ड्सले यसअघि पहिलो खेलमा नेपालविरुद्ध ६ विकेटका जित निकालेको थियो ।
प्रतियोगिता अन्तर्गत अहिले युगाण्डा र वेस्ट इण्डिज बीच खेल जारी छ । आज भारत र पाकिस्तान तथा ओमन र स्कटल्याण्डबीच खेल हुने तालिका रहेको छ ।














