टी-२० विश्वकप क्रिकेटः बंगलादेश र इंग्ल्याण्ड विजयी, पिएनजी र अफगानिस्तान भिड्दै
थानकोट ।
जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा बंगलादेशले नेदरल्यान्ड्सविरुद्ध २५ रनको जित निकालेको छ ।
बिहीबार किंग्सटाउनमा भएको खेलमा बंगलादेशले प्रस्तुत गरेको १६० रनको लक्ष्य पछ्याउने क्रममा डच टिमले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३४ रनमात्र बनाएपछि दक्षिण एशियाली मुलुक बंगलादेश २५ रनले विजयी भयो ।
टस हारेर ब्याटिङमा आएको बंगलादेशले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५९ रनको योगफल खडा गरेको थियो ।
जितसँगै तीन खेलबाट चार अंक जोडेको बंगलादेशले सुपर–८ को सम्भावना बलियो बनाएको छ ।
बंगलादेश तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट दुई अंक जोडेको नेदरल्यान्ड्स तालिकाको तेस्रो स्थानमा छ ।
शुक्रबार बिहान सम्पन्न समुह बी को खेलमा साबिक विश्व विजेता इंग्ल्याण्डले ओमानमाथि ८ विकेटको सहज जित हात पार्यो । ओमानले पेश गरेको ४७ रनको लक्ष्य इंग्ल्याण्डले १०१ बल बाँकी रहँदै २ विकेटको क्षतिमा पूरा गर्यो ।
तीन खेलमा १ जित, १ हार र १ बराबरीसँगै इंग्ल्याण्डको ३ अंक रहेको छ । उ तालिकाको तेस्रो स्थानमा छ ओमानले भने प्रतियोगितामा लगातार चाैथो हा व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगिता अन्तर्गत समुह सी मा अहिले पपुवा न्यूगिनी र अफगानिस्तानबीच खेल जारी छ । यो खेल जितेमा अफगानिस्तान सुपर ८ मा पुग्नेछ भने न्युजील्याण्ड २ खेल बाँकी रहँदै प्रतियोगिताबाट बाहिरिनेछ ।














