टी-२० विश्वकप क्रिकेटः अफगानिस्तान सुपर ८ मा पुग्दा न्युजिल्याण्ड २ खेल अगावै नकआउट
थानकोट ।
उपाधि दाबेदार मानिएको न्यूजील्याण्ड जारी टी-२० विश्वकप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ ।
शुक्रबार बिहान सम्पन्न समुह सी अन्तर्गतको खेलमा अफगानिस्तानले पपुवा न्यूगिनीलाई पराजित गरेसँगै न्यूजील्याण्ड विश्वकपबाट बाहिरिएको हो ।
समुह सी बाट अफगानिस्तान र वेस्ट इन्डिज सुपर आठमा पुगेका छन् ।
अफगानिस्तानले पिएनजीलाई यस खेलमा ७ विकेटले पराजित गरेको हो । पिएनजीले दिएको ९६ रनको लक्ष्य पछाएको अफगानिस्तानले १५.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि पिएनजीले पहिला ब्याटिंग गर्दै १९.५ ओभरमा अल आउट भएर ९५ रन बनाएको थियो ।
यो जितपछि अफगानिस्तानले लगातार तीन खेलमा जित हासिल गर्दै ६ अंकसहित शिर्ष स्थानमा उक्लिएको छ र सुपर ८ पुगेको छ । त्यस्तै वेस्ट इन्डिजले पनि तीन खेल जितेर ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।
यस समुहबाट युगाण्डा र पीएनजीपनि बाहिरिएका छन् । न्यूजील्याण्डले अहिलेसम्म खेलेका दुवै खेलमा हार बेहोरेको थियो । र न्यूजील्याण्ड टी-२० विश्वकपको पहिलो चरणमै बाहिरिएको यो पहिलो पटक हो ।
अब अफगानिस्तानले वेस्ट इन्डिजको सामना गर्ने छ भने न्युजील्याण्डले युगान्डा र पिएनजीसँग खेल्ने छ ।
तस्बिरः आइसिसी














