टी-२० विश्वकप: भोलि बिहान ५ः१५ बजे बंगलादेशसँग नेपालको अन्तिम खेल
थानकोट ।
जारी आईसीसी टी–२० विश्वकप क्रिकेटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भोलि सोमबार बिहान बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ।
वेष्ट इण्डिजको सेन्ट भिन्सेन्टस्थित आरनोस भेल स्टेडियममा नेपाली समय अनुसार बिहान सवा ५ बजे हुने खेल बंगलादेशका लागि निकै महत्वपूर्ण छ।
बंगलादेशलाई सुपर ८ मा पुग्न नेपाललाई हराउनैपर्ने दबाब रहेकाले भोलिको खेल उसका लागि गर या मरको अवस्था छ। सुपर ८ को दौडबाटै बाहिरिसकेकाले नेपालका लागि यो खेल प्रतिष्ठाको लडाइँ मात्रै हुनेछ।
बंगलादेशको अहिले २ खेलमा ४ अंक रहेको छ र समूह डी मा तेस्रो स्थानमा छ। यो समूहमा नेदरल्याण्ड्स पनि सुपर ८ को दौडमा कायम रहेको छ।
भोलि बिहान नै हुने नेदरल्याण्ड्स र श्रीलंकाबीचको खेल नेदरल्याण्ड्सले जितेमा र बंगलादेश नेपालसँग पराजित भएको अवस्थामा नेदरल्याण्ड्स सुपर ८ मा पुग्ने समीकरण छ ।














