टी-२० विश्वकप क्रिकेटः भारत र वेस्ट इन्डिजको सहज जित, अष्ट्रेलिया र अफगानिस्तानबीच खेल जारी

Thankot Times

थानकोट । 

जारी आइसिसी टी- २० विश्वकपअन्तर्गत ‘सुपर-८’मा भारतले लगातार दोस्रो जित निकाल्दै सेमिफाइनलको निकै नजिक पुगेको छ।

शनिबार राति सम्पन्न खेलमा भारतले बंगलादेशलाई ५० रनले पराजित गरेको हो। यसअघि पहिलो खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले पराजित गरेको थियो।

भारतले दिएको १ सय ९७ रनको लक्ष्य पछ्याएको बंगलादेशले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ४६ रन मात्रै बनाउन सक्यो।

बंगलादेशका कप्तान नजमुल शान्तोले सर्वाधिक ४० रन बनाए। तन्जिद हसन २९, रिशाद हुसेन २४, लिटनकुमार दास १३, महमुदउल्लाह १३ र शाकिब अल हसन ११ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।

भारतका कुलदीप यादवले सर्वाधिक तीन विकेट लिए। अर्शदीप सिंह र जसप्रीत बुमराहले समान दुई विकेट लिँदा हार्दिक पाण्ड्याको नाममा एक विकेट रह्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९६ रन बनाएको थियो । भारतका लागि ब्याटिङतर्फ हार्दिक पाण्डेयले अर्धशतकीय पारी खेले। उनले २७ बलमा ५० रन पूरा गरे।

विराट कोहलीले ३७ रनको योगदान दिए। कप्तान रोहित २३, ऋषभ पन्त ३६, शिवम दुबे ३४ तथा सुर्यकुमार यादवले छ रन बनाए। अक्षर पटेल ३ रनमा अविजित रहे।

बलिङतर्फ बंगलादेशको लागि तान्जिन साकिब र रिशाद हुसेनले समान दुई विकेट लिँदा शकिब अल हसनले एक विकेट हात पारे। पराजित बंगलादेश भने सुपर एटबाटै बाहिरिएको छ। प्रतियोगिता अन्तरगत आज विहान अष्ट्रेलिया र अफगानिस्तानबीच खेल हुनेछ।

हिजो शनिबार बिहान  सम्पन्न सुपर ८ को अर्को खेलमा वेस्ट इन्डिजले अमेरिकामाथि ९ विकेटको शानदार जित निकालेको छ ।

सुरुमा ब्याटिङ गरेको अमेरिकाले दिएको १२९ रनको लक्ष्य वेस्ट इन्डिजले १०.५ ओभरमा भेट्टाएको हो । वेस्ट इन्डिजले मात्र एक विकेट गुमाएर १३० रन जोड्दै ९ विकेटको शानदार जित निकालेको हो ।

वेस्ट इन्डिजका लागि विस्फोटक ब्याटिङ गरेका शाही होपले नटआउट ८२ रन बनाए । ३९ बल खेलेका उनले ८ छक्का र चार चौकाको मद्दतमा ८२ रन बनाए । निकोलास पुरणले नटआउट २७ रन जोड्दा जोनसन चार्ल्स १५ रनमा आउट भएका थिए ।

अमेरिकाका लागि हरमित सिंहले मात्र एक विकेट लिए । टस हारेर सुरुमा ब्याटिङ गरेको अमेरिकाले १९.५ ओभर खेल्दै सबै विकेट गुमाएर १२८ रन बनाएको थियो ।

विश्वकपको सुपर–८ को समूह–२ मा वेस्ट इन्डिजले पहिलो जित निकालेको हो । पहिलो खेलमा वेस्ट इन्डिज इंग्ल्यान्डसँग ८ विकेटले पराजित भएको थियो । पहिलो जितसँगै वेस्ट इन्डिज दुई अंकसहित तालिकाको दोस्रो स्थानमा पुगेको छ ।

पहिलो खेलमा दक्षिण अफ्रिकासँग १८ रनले पराजित भएको अमेरिका भने यो हारसँगै दुई खेल खेल्दा अंकविहीन छ ।

यो समूहको दक्षिण अफ्रिका चार अंकसहित शीर्ष स्थानमा छ । दुई खेल खेलेको इंग्ल्यान्डले एक हारसहित दुई अंक जोडेको छ ।

प्रतियोगित अन्तर्गत अहिले अफगानिस्तान र अष्ट्रेलियाबीच खेल भइरहेको छ । आज साँझ इंग्ल्याण्ड र अमेरिकाबीच खेल हुने तालिका छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *