टी-२० विश्वकप क्रिकेटः अस्ट्रेलियामाथि अफगानिस्तानको ऐतिहासिक जित, कमिन्सको कीर्तिमान
थानकोट ।
जारी टी- २० विश्वकपको सुपर आठ अन्तर्गतको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गरेको छ ।
यो टी- २० खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई पराजित गरको पहिलोपटक हो ।
अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले १९.२ ओभरमा अल आउट हुँदै १२७ रन बनाएको थियो ।
अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५९ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले उनलाई साथ दिन असफल भएका थिए ।
त्यस्तै अफगानिस्तानका बलरले यस खेलमा शानदार बलिङ गरेका थिए ।
अफगानिस्तानका लागि गुलबदीन नैबले सर्वाधिक ४ विकेट लिए भने नवीन उल हकले ३ विकेट लिएका थिए ।
त्यस्तै, मोहमद नावी र राशिद खानले एक एक विकेट लिएका थिए ।
यस अघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रन बनाएको थियो ।
अफगानिस्तानका लागि रह्मानुल्लाह गुरबाजले सर्वाधिक ६० रन बनाएका थिए भने इब्राहिम जद्रानले ५१ रन बनाएका थिए । दुवैले पहिलो विकेटका लागि ११८ रनको साझेदारी गरेका थिए ।
त्यस्तै अस्ट्रेलियाका लागि कप्तान पाट कमिंसले ह्याट्रिक लिएका थिए । उनको यस विश्वकपमा लगातार दोस्रो खेलमा ह्याट्रिक हो । त्यस्तै एडम जाम्पाले २ विकेट लिएका थिए ।
यो जितपछि अफगानिस्तानले सुपर आठको समुह एकमा २ महत्वपूर्ण अंक हासिल गरेको छ ।
त्यस्तै, अस्ट्रेलियाको २ खेलमा २ अंक रहेको छ ।
अब अस्ट्रेलियाले अर्को खेल सोमबार राती भारतसँग खेल्ने छ भने अफगानिस्तानले मंगलबार बिहान बंगलादेशविरुद्ध खेल्ने छ ।
तस्बिरः आइसीसी














