टी-२० विश्वकपः अफगानिस्तानलाई ९ विकेटले स्तब्ध बनाउँदै दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा

Thankot Times

थानकोट । 

जारी टी-२० विश्वकप क्रिकेटको पहिलो सेमीफाइनल खेलमा अफगानिस्तानलाई ९ विकेटले स्तब्ध बनाउँदै दक्षिण अफ्रिका पहिलोपटक फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार टारोउबामा भएको खेलमा टस जितेर ब्याटिङमा उत्रिएको अफगानिस्तान ११.५ ओभरमा ५६ रनमै समेटिएको थियो ।

अफगानिस्तानका अज्मतुल्लाह ओमरजाईले १० रन जोडे । यसबाहेक, अन्य ब्याटर दोहोरो अंकको रनसम्म पुग्न सकेनन् ।

अफगानिस्तानलाई झिनो योगफलमा रोक्न दक्षिण अफ्रिकाका मार्को जान्सेन र तबरेज साम्सीले समान तीन विकेट लिए । कगिसो रबाडा र एनरिक नोर्ट्जेको नाममा समान दुई विकेट रह्यो ।

अफगानिस्तानले दिएको जम्मा ५७ रनको लक्ष्य दक्षिण अफ्रिकाले ८.५ ओभरमा पूरा गरेको थियो ।

उसका लागि रिजा हेनरिक र कप्तान एडेन मार्करमले पारि सम्हाल्दै दक्षिण अफ्रिकालाई ८.५ ओभरमा जिताए ।

रिजाले २५ बलमा २९ रनको नटआउट पारि खेल्दा मार्करमले २१ बलमा २३ रनको नटआउट पारि खेले ।फजलहक फारुकीले १ विकेट लिए । दक्षिण अफ्रिकाले अब फाइनलमा भारत र इंग्ल्याण्डबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो सेमिफाइनल खेल पनि आज राति नै हुने तालिका छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *