युरो कप फुटबल-२०२४ को फाइनल समीकरण पूरा, उपाधीका लागि स्पेन र इङ्गल्याण्ड भिड्ने
थानकोट ।
जर्मनीमा जारी युरोकप फुटबल प्रतियोगिताको फाइनल समीकरण पूरा भएको छ ।
इङल्याण्ड युरोकपको फाइनलमा पुगेसँगै उपाधिका लागि भिड्नै दुवै टोलीको छिनोफानो भएको हो । जारी युरोकपको सेमिफाइनलमा नेदरल्याण्डसलाई २-१ गोल अन्तरले पराजित गर्दै इङल्याण्ड प्रतियोगिताको फाइनलमा पुगेको छ ।
१-१ खेलको बराबरीमा रहेको खेलमा खेलको ९०औं मिनेटमा इङल्याण्डका ओली वाटकिन्सले गोल गर्दै इङल्याण्डलाई फाइनलमा पुर्याएका हुन् । यस अघि खेलको सातौं मिनेटमा जाभी सिमन्सको गोलमा नेदरल्याण्डसले शुरुवाती अग्रता लिएको थियो । त्यसपछि खेलको १८औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए ।
यो जितसँगै इङल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनलमा पुगेको छ । यस अघि २०२० मा सम्पन्न युरोकपको फाइनलमा इङल्याण्ड इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो ।
अब फाइनलमा इङल्याण्डले उपाधिको लागि स्पेनको सामना गर्ने छ ।
फाइनल खेल आइतबार राति हुने छ ।














