मिस नेपाल २०२६ का लागि आवेदन खुला

Thankot Times

थानकोट ।

द हिडन ट्रेजरले मिस नेपाल २०२६ प्रतियोगिताका लागि आवेदन खुला गरेको छ ।

नेपालभित्र तथा विदेशमा बसोबास गरिरहेका इच्छुक युवतीहरूलाई प्रतियोगितामा आवेदन दिन आमन्त्रण गरिएको छ । आवेदन दिने अन्तिम मिति २५ जेठ सम्म रहेको छ ।

मिस नेपाल २०२६ को ग्राण्ड फिनाले १६ साउनमा पुल्चोकस्थित द प्लाजामा आयोजना हुनेछ ।

ग्राण्ड फिनाले हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ । मिस नेपाल २०२६ का लागि योग्यता मापदण्ड अनुसार सहभागीहरूको न्यूनतम उचाइ ५ फिट ३ इन्च र उमेर १८ देखि २७ वर्षीय हुनुपर्छ ।

आवेदकसँग नेपाली नागरिकता हुनुपर्छ । विदेशमा बसोबास गर्ने नेपालीहरूले गृह मन्त्रालयद्वारा जारी एनआरएन कार्डको साथ आवेदन दिन सक्नेछन् ।

दर्ता निःशुल्क छ । यस वर्षको प्रतियोगिताबाट तीन जना विजेताहरू घोषणा गरिनेछन्– मिस नेपाल वर्ल्ड, मिस नेपाल कोस्मो र मिस नेपाल इन्टरनेशनल ।

द हिडन ट्रेजरले कज्यारिया रमेश टाइल्स लिमिटेड कम्पनीलाई मुख्य शीर्ष प्रायोजक तथा श्री नटराज ज्वेलर्सलाई सह-प्रायोजकका रूपमा भित्र्याएको छ ।

नटराज ज्वेलर्स गत वर्षदेखि क्राउन पार्टनर पनि हो । मिस नेपालको खोज देशका विभिन्न शहरहरू– विराटनगर, इटहरी, बुटवल, पोखरा, नेपालगञ्ज र जनकपुरमा सञ्चालन गरिने भएको छ ।

साथै, यस अवधिमा काठमाडौंका १० कलेजहरूमा मिस नेपाल एक्टिभेसन अभियान सञ्चालन गरिनेछ ।

अन्तिम अडिसन २९ जेठमा काठमाडौंमा आयोजना हुनेछ ।

छनोट भएका प्रतिस्पर्धीहरूले ग्राण्ड फिनालेका लागि आवश्यक प्रशिक्षण तथा ग्रुमिङ प्राप्त गर्नेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *