बलम्बुका समाजसेवी महर्जनको सडक दुर्घटनामा परि निधन, न्यायका लागि गुर्जुधारामा प्रदर्शन
थानकोट।
बलम्बु क्षेत्रका परिचित समाजसेवी पुरुषोत्तम महर्जनको निधन भएको छ ।
प्रहरीका अनुसार बुधबार अपरान्ह स्वयम्भूस्थित हल्चोक सडकमा भएको दुर्घटनामा परि उनको निधन भएको हो ।
स्कुटरमा सवार महर्जनलाई बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएका महर्जनलाई उपचारका लागि अस्पताल लगिएकोमा त्यहाँ उनको निधन भएको प्रहरीको भनाइ छ ।
उनी चन्द्रागिरि नगरपालिका-१२ बलम्बुका स्थानीय हुन् ।
घटनाको विरोधमा स्थानीयले बिहीबार बिहान गुर्जुधारा क्षेत्रमा केहीबेर प्रदर्शन गरेका छन् ।
उनीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनबमोजिम कडा कारबाही गर्न, पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुरक्षा र जिम्मेवारीका उपायहरू अविलम्ब लागू गर्न सम्बन्धित निकायसमक्ष जोडदार माग गरेका छन् ।
भिडियो हेराैं
प्रहरीले दुर्घटनामा संलग्न सवारीसाधन तथा चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको सूचना प्राप्त भएको पीडीतका परिवारजनले जानकारी दिए ।
घटनका बारेमा प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान भइरहेको बुझिएको छ ।
तस्बिर स्रोतः बलम्बु/भास्तिपुर










