आज शुक्रबार दिनभरको मौसम पूर्वानुमान जान्नुहोस
थानकोट ।
देशका केही प्रदेशमा आज वर्षाको सम्भावना छ ।
केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान कोसी र पाग्मती प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई भूभागका थोरै स्थान तथा वाग्मती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागको एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जानकारी दिएको छ ।
राति देशभर साधारणतया बादल लाग्ने विभागको भनाइ छ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
तराई भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको नजिक रहेको विभागले जानकारी दिएको छ ।











