नेकपा एमालेद्वारा ‘अन्तरपार्टी निर्देशन–२’ जारी, सबै केन्द्रीय सदस्यले पाए जिम्मेजारी (सूचीसहित)
थानकोट ।
नेकपा (एमाले) ले पार्टीको आन्तरिक सुदृढीकरण र वर्तमान राजनीतिक परिस्थितिबारे विशेष कार्ययोजनासहित ‘अन्तरपार्टी निर्देशन–२’ जारी गरेको छ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकका निर्णयहरू समेटेर जारी गरिएको उक्त निर्देशनमा पार्टीलाई जगैदेखि मजबुत बनाउन ‘मिसन पार्टी जागरण’ अभियान घोषणा गरिएको छ।
निर्देशनमार्फत एमालेले सातै प्रदेशका ७५३ वटै स्थानीय तहमा केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेर कार्यविभाजन गरेको छ।
जसअन्तर्गत केन्द्रीय सदस्यहरूलाई विभिन्न पालिकाको इन्चार्ज र ‘मिसन पार्टी जागरण’ को प्रतिनिधि बनाएर पठाइएको छ।
पार्टीले आगामी जेठ मसान्तभित्र संगठित सदस्यता नवीकरण गरिसक्न र नयाँ सदस्य विस्तारलाई तीव्रता दिन मातहतका कमिटीलाई निर्देशन दिएको छ।
एमालेले आगामी निर्वाचन र पार्टी सुदृढीकरणलाई ध्यानमा राख्दै पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मलाई भूगोल र विभागको जिम्मेवारी सुम्पेको जनाएको छ ।
जसअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले समग्र पार्टी कामको नेतृत्व गर्नेछन् भने उपाध्यक्षहरूलाई विभिन्न विभाग र क्षेत्रको समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।












